राष्ट्रियसभामा ३ जना मनोनित गर्ने विषयमा प्रधानमन्त्री र राष्ट्रपतिबिच कुरा मिलेन, विवाद बढ्ने संकेत

काठमाण्डौ, माघ २७ । राष्ट्रियसभामा तीन जना सदस्य मनोनित गर्ने विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबिच विवाद देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तीन जना मनोनित गर्ने व्यक्तिको नाम लिएर शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका थिए । तर भण्डारीले देउवाले लगेका नामप्रति असन्तुष्टी जनाएको बताइएको छ ।

अर्कोतिर नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनेपछि तीन जना मनोनित गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ । तर देउवाले अहिलेकै सरकारले राष्ट्रियसभालाई पूर्णता दिनुपर्ने भन्दै नाम राष्ट्रपति समक्ष सिफारित गर्न लागेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले पनि देउवाले गरेको सिफारिसअनुसारको व्यक्ति मनोनित नगर्न राष्ट्रपतिलाई दबाब दिएको बताइएको छ । सरकारले राष्ट्रियसभाका लागि गोपालकुमार बस्नेत (झापा), चाँदनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल (स्याङ्जा) को नाम पठाउने निर्णय गरेको थियो ।

बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उल्लेखित तीन जनालाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय लिएर आज प्रधानमन्त्री देउवा राष्ट्रपतिकहाँ पुगेका थिए । तर राष्ट्रपति भण्डारीले नामप्रति असन्तुष्टी मात्रै नभै चुनाव हारेर म्यान्डेट गुमाइसकेकाले नयाँ सरकारलाई नाम सिफारिस गर्न दिनुपर्ने दबाब दिएकी थिइन् । देउवाले पनि आफूमाथि अधिकार भएको भन्दै बस्नेत, जोशी र पौडेललाई नै मनोनित गर्नुपर्ने अडान राखेपछि विवाद देखिएको हो ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ ख बमोजिम सरकारले राष्ट्रिय सभामा नियुक्तिका लागि तीन जनाको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो । सिफारिसमा परेका बस्नेत झापा कांग्रेसका पूर्वसचिव हुन् । कांग्रेस विभाजित हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेस झापाका जिल्ला सभापति थिए ।

यस्तै जोशी महिला विकासका लागि संयुक्त राष्ट्रसंघीय कोषकी दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन् । जोशीसँग पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेको पनि अनुभव छ । राष्ट्रियसभा सदस्यका लागि सिफारिस पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।