मिहेनत गरे पैसा कमाउन विदेश नै जानु पर्दैन, नेपालमै यसरी कमाउन सकिन्छ

मोरङ, माघ २८ । दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत भएका छन् ।

एक माउ भैँसीबाट पशुपाल शुरु गरेका चोङवाङले मासिक रु एक लाख ६० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आएका छन् ।

२०६७ सालदेखि एक माउ भैँसीबाट पशुपालन शुरु गरेका चोङवाङले अहिले आफैंले उत्पादन गरेको १२० लिटर दूध बिक्री गर्दै आएका छन्।

उनले वार्षिक रुपमा बिक्री गर्ने सय ट्र्याक्टर गोबरमल प्रतिट्र्याक्टर रु तीन हजारका दरले बिक्री गर्दै आएको बताए ।

चोङवाङले गाउँमा आफैं रोजगारीको सृजना गर्ने विचारले कुलझोडा पशुपालन तथा दुग्ध व्यवसाय प्रालिको स्थापना गरे ।

उनले अहिले आफ्नै चार बिघा जमिनमा स्थापना गरेको पशुपालन केन्द्रमा पाँच जनालाई रोजगारी दिएका छन् ।

सो केन्द्रमा अहिले नौ माउ भैँसी र पाँच माउ गाई छन् । व्यवसायलाई बिस्तार गर्ने उद्देश्यले सातवटा बाच्छी र ६ वटा पाडी पालेका छन् ।

रु दश लाखको लगानीमा शुरु गरेको व्यवसायमा हाल रु २० लाख लगानी पुगिसकेको चोङवाङको भनाइ छ ।

उनले मासिक रुपमा रु एक लाख ४० हजारको दुग्ध बिक्री गर्ने गरेको बताउँछन् । उनी मात्र होइन ३ वर्ष मलेसियामा काम गरेर फर्किएका मोरङ दर्वेशा–१ का अशोक सुवेदीेले बाख्रापालन गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

परिवार नै मिलेर दुईवटा बाख्राबाट बाख्रा फारम खोलेका सुवेदी परिवारले अहिले १०० वटा बाख्रा पाल्न थालेका छन् । उन्नत जातका बाख्रा पाल्न शुरु गरेपछि सुवेदी परिवारको आर्थिक जीवनस्तरमा सुधार आएको छ ।

आफू विदेशमा काम गर्न जाँदा कमाउन नसकेको र हाल बाख्रापालनबाट मनग्य आम्दानी हुने गरेकाले अरूलाई पनि यही पेशा अपनाउन उनी आग्रह गर्छन् ।

सुवेदीले बाख्रापालन सँगै दुई जनालाई रोजगारीसमेत दिएका छन् ।

अरूले कृषि पेशा गरेको सुनेको आधारमा आफूले पनि व्यवसाय थालनी गरेका सुवेदीले फारमबाट उत्पादन भएको बोका–पाठीहरु तीन महिनामा बिक्री गर्न हुने र चार महिनामा १८ किलोसम्म पुग्ने गरेको बताए ।

बीउका रुपमा बाख्रा विभिन्न क्षेत्रबाट माग हुने गरेको भएता पनि माग पूरा गर्न नसकिरहेको सुवेदीको भनाइ छ ।

उनी मात्र होइन जिल्लाका ४० युवा व्यावसायिक पशुपालन र दुग्ध उत्पादन व्यवसाय गर्दै आएको जिल्ला पशुसेवा कार्यालय मोरङले जनाएको छ । अहिले मोरङमा साना–ठूला गरेर चारसय व्यावसायिक पशुफार्म सञ्चालित छन् ।

जिल्ला पशुसेवा कार्यालय मोरङका प्रमुख डा सुशील अधिकारीका अनुसार व्यावसायिक रुपमा १४३ वटा गाईको फार्म सञ्चालन गरिएको छ ।

त्यस्तै १४ भैंसी फार्म र पाँच पाडा–पाडीको फार्म दर्ता छन् । त्यस्तै मोरङ जिल्लामा ७० बाख्रा, ६४ बंगुर, २० कुखुरा र ४१ वटा मिश्रित फार्म दर्ता भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।