सबैको साझा अठोट र प्रतिबद्धताबाट मुलुकमा भ्रष्टाचार निर्मूल गर्न सकिन्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैको साझा अठोट र प्रतिबद्धताबाट मुलुकमा भ्रष्टाचार निर्मूल गरी सुशासन र विधिको शासन कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारमुक्त समुन्नत एवं सुसंस्कृत समाज स्थापनाका लागि सबै क्षेत्रबाट तत्परता र सक्रियता जरुरी रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो “देशले अंगीकार गरेको नयाँ राजनीतिक पद्धति र संरचनामा सदाचार, सुशासन र सार्वजनिक उत्तरदायित्वको भावनालाई अझ बढी सुदृढ र प्रभावकारी बनाउन आयोगको भूमिका अझ सशक्त हुनुपर्छ भन्ने मैलै विश्वास लिएको छु ।”

उहाँले संघ, प्रदेश र स्थानीय तहमा असल अभ्यासको सुदृढीकरण गरी लोकतन्त्रको प्रतिफल जनसमक्ष पु¥याउन र प्रभावकारीरुपमा भ्रष्टाचारको नियन्त्रण गर्न आयोगको भूमिका अझ सशक्त बन्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले आयोगलाई संवैधानिकरुपमा भ्रष्टाचार नियन्त्रणको दायित्व सुम्पिएको भए पनि यस कार्यमा सबै सरोकारवाला पक्षको सक्रिय सहकार्य र सहयोगको आवश्यकता औँल्याउनुभयो ।

आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले भ्रष्टाचार नियन्त्रण, विधिको शासन कायम गर्ने विषय कठिन भए पनि असम्भव भने नरहेको बताउनुभयो ।

संविधानले अनुचित कार्यलाई आयोगको कार्यक्षेत्रभित्र नराखेकाले केही जटिलता आएको बताउँदै उहाँले विज्ञान प्रविधिले भ्रष्टाचारको स्वरुपमा पनि परिवर्तन गरेकाले आयोगको कार्यक्षमता बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने वक्ततृत्वकला र कविता प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नेलाई राष्ट्रपति भण्डारीले पुरस्कार हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपाल पराजुली, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलगायतका विशिष्ट व्यक्तिको उपस्थित थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।