राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आज पदबाट राजीनामा दिने
काठमाण्डौ, फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने तयारी रहेको बुझिएको छ । तीनै तहको निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री देउवाले नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न राजीनामा दिन लागेको वालुवाटार स्रोतले जनाएको छ ।
निर्वाचन आयोगले आजै बेलुकासम्ममा प्रतिनिधिसभाको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहेका बेला प्रधानमन्त्री देउवाले राजीनामा दिने तयारी गर्नुभएको हो ।
प्रतिनिधिसभाको परिणाम बुझे पछि राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान हुनुअघि नै देउवाको राजीनामा आउन सक्ने बताइएको छ । आयोगले प्रतिनिधिसभामा निर्वाचित सांसदको सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नासाथ नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्ने छ।
राष्ट्रपतिले नयाँ सरकारको प्रक्रिया अघि बढाउनुअघि नै प्रधानमन्त्री देउवा राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने सोचमा देखिनुभएको छ । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिने समझदारीअनुसार देउवा चौथो पटक गत जेठ २३ गते मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो ।


