एनसेल टावरमा भेटिएको प्रेसर कुकर बम दुई घण्टाको प्रयासपछि डिस्पोज
भक्तपुर, फागुन २ । भक्तपुरको सल्लाघारीमा एक गार्मेन्ट उद्योगको छतमा रहेको एनसेलको टावरमा भेटिएको प्रेसर कुकर बम डिस्पोज गरिएको छ ।
एनसेल टावर रहेको ठाउँमा शंकास्पद वस्तु भेटिएपछि आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले दुई घण्टाको प्रयासपछि बम डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ ।

टावरमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि प्रहरीले नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो । बोराभित्र राखेको अवस्थामा सेनाको टोलीले प्रेसर कुकर बम भेटेको हो ।
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले अज्ञात समूहले सर्वसाधारणलाई आतंकित पार्ने गरी प्रेसर कुकरमा केही विस्फोटक पदार्थ राखेको भन्ने खबर प्राप्त भएपछि सेनाको टोलीलाई खबर गरेको जानकारी दिनुभयो ।
सेनाको टोलीले बम निस्क्रिय पारेको जानकारी दिदै प्रसाईले घटनाबारे अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । बम भेटिएपछि अरनिको राजमार्ग भएर गुड्ने यातायाताका साधनलाई समेत दुईघण्टा गुड्न रोक लगाएको थियो ।
दुई सुरक्षा गार्ड रहेको यो भवनको छतमा कसरी बम राखियो भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै मंगलबार राति चाँगुनारायण नगरपालिका सुडालमा रहेको एनसेलको टावरमा पनि विस्फोट गराएको थियो । अज्ञात समूहले राति १० बजे गराएको विस्फोटबाट ऐनसेल टावरको ब्याट्री लगायतका केही सामाग्रीमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक प्रसाईले जानकारी दिनुभयो । – तस्वीर : रमेश गिरी, भक्तपुर, रासस


