संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत, भने- देशको हितलाई सर्वोपरी राखेर काम गर्छु

शपथ लिए लगत्तै नवनियुक्त प्रधामनन्त्री ओली चम्पादेवी जादै

काठमाडौं, ३ फागुन । नेकपा एमाले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन हुनुभएको छ ।

एमाले केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको संसदीय दलको पहिलो बैठकमा एमालेका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य माधबकुमार नेपालले अध्यक्ष ओलीलाई संसदीय दलको नेतामा निर्वाचित गर्न प्रस्ताव राख्नु भएको थियो । नेता नेपालको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्नुहुँदै दलका नेता एवं नवनियुक्त प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादित भएर संसद बैठकमा प्रस्तुत हुन र संसदमा उठाउने विषयहरुमा पर्याप्त जानकारी राख्न निर्देशन दिनुभएको प्रतिनिधिसभा सदस्य तथा एमाले नेता भानुभक्त ढकालले जानकारी दिनुभयो । उहाँले देशको हितलाई सर्वोपरी राखेर आफूले काम गर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले राष्ट्रिय राजनीति र माओबादी केन्द्रसँग हुने पार्टी एकताका बारेमा पनि बैठकलाई जानकारी गराउनुभएको थियो । बैठकमा वरिष्ठ नेता नेपालले एमाले र माओबादी केन्द्रबीचको एकताका बारेमा विस्तृतमा जानकारी गराउनुभएको थियो ।

चम्पादेवी पुगेर कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालीकमा माल्यापर्ण गर्ने :

नवनियुक्त प्रधामनन्त्री केपी शर्मा ओली बिहीवार राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिए लगत्तै कृर्तीपुर चम्पादेवी पुगेर कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालीकमा माल्यापर्ण गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले शपथ लगत्तै चम्पादेवी जाने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए । अन्य प्रधानमन्त्रीहरु लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण गरेर सिंहदरवार जाने गरेका थिए । तर, ओलीले यो पटक नयाँ नियम बसाल्ने भएका छन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ शीतल निवासमा अपरान्ह ४ बजेका लागि तय गरिएको छ । राष्ट्रपति भण्डारीले बिहीवार नै ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । त्यसअघि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले राष्ट्रपति समक्ष आग्रह गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।