राष्ट्रपति निर्वाचन बारे दलहरुबीच भयो यस्तो सहमति…

काठमाडौं, ३ फागुन। राष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्ने आयोगको प्रस्तावमा सहमति भएको नेकपा (एमाले) का नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायतका विषयमा राजनीतिक दलका प्रतिनिधिसंग विस्तृतरुपमा छलफल भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले विभिन्न सरोकारवालासँग छलफल गरेर फागुन महिनाभित्रै निर्वाचन सम्पन्न गर्ने गरी आयोगले मिति घोषणा गर्ने जानकारी दिनुभयो ।

आयोगकातर्फबाट यही फागुन महिनाको अन्त्यसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने कार्यतालिकासहितको प्रस्तावलाई दलहरूले समर्थन गरेका थिए ।

राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहने र संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ रहने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यसैबीच राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका उम्मेदवारहरूलाई निर्वाचन खर्च समयमै बुझाउन आयोगले दलहरूसँग आग्रह पनि गरेको छ ।

छलफलमा नेकपा (एमाले) का नेता राजेन्द्र पाण्डे, अग्नि खरेल, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, डा. मीनेन्द्र रिजाल, नेकपा (माओवादी केन्द्र)का नारायणकाजी श्रेष्ठ र प्रल्हाद बुढाथोकी, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो र केशव झा तथा संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ र डा. शिवजी यादव सहभागी हुनुहुन्थ्यो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।