मुख्यमन्त्री राईद्वारा शपथ, प्रदेश नं १ मा पाँच सदस्यीय मन्त्रिमण्डल
विराटनगर, ३ फागुन । प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले आज अपराह्न मुख्यमन्त्री शेरधन राईलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

नेकपा (एमाले) प्रदेश नं १, संसदीय दलका नेता उहाँ भोजपुर जिल्लाबाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो । राईको जन्म २०२७ साल फागुन महिना ११ गते भोजपुर आमचोक गाउँपालिका–३ मा भएको हो । पिता जागीरमान र माता राम्रीमायाका सुपुत्र उहाँले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनुभएका उहाँ २०४४ सालमा अनेरास्ववियूको सङ्गठित सदस्य हुँदै २०४९–२०५० सालमा अनेरास्ववियू, भोजपुर अध्यक्ष र २०५० र २०५३ मा केन्द्रीय सदस्य हुनुभयो ।
विसं २०४७ मा एमालेको सङ्गठित सदस्यता प्राप्त गरेपछि २०४९ मा एमाले भोजपुरका जिल्ला सदस्य, २०५१ मा दोस्रो जिल्ला अधिवेशनबाट सचिवालय सदस्य र २०५४ मा उपसचिव तथा २०५४ सालमा पार्टी विभाजन भएपछि एमालेको सभापति हुनुभएको थियो । विसं २०७० सम्म पार्टी जिल्ला सभापति रहनुभएका उहाँ २०७० साल वैशाख २७ गते वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएपछि २०७१ सालमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।
हाल उहाँ पार्टी पोलिटब्यूरो सदस्यका साथै प्रदेश नं १ को सहइन्चार्ज हुनुहुन्छ ।
विसं २०५६ को आमनिर्वाचनमा उहाँ एमालेबाट भोजपुर क्षेत्र नं २ बाट निर्वाचित हुनुभयो । उनन्तीस वर्षकै उमेरमा सांसद हुनुभएका कान्छा सांसद राई २०६२÷२०६३ सालको ऐतिहासिक जनान्दोलनबाट पुनःस्थापित संसद्को सांसद हुनुभयो । उहाँ विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट निर्वाचित भई २०७१ मा व्यवस्थापिका–संसद,सुशासन तथा अनुगमन समितिका सभापति र केपी शर्मा ओलीको मन्त्रिमण्डलमा २०७२ कात्तिक १९ गते सूचना तथा सञ्चारमन्त्री हुनुभयो ।
प्रदेश नं १ मा पाँच सदस्यीय मन्त्रिमण्डल
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम चार जना मन्त्रीलाई नियुक्त गर्नुभएको छ ।
मुख्यमन्त्री राईले हिक्मत कार्कीलाई आन्तरिक मामिला तथा कानुन, इन्द्रबहादुर आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना, जीवन घिमिरेलाई सामाजिक विकास र जगदीश कुशियैतलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री राईले भौतिक तथा पूर्वाधार, भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालय आफैसँग राख्नुभएको छ ।
नवनियुक्त मन्त्रीको शपथ
मुख्यमन्त्री राईको शपथ ग्रहणलगत्तै प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । सो अवसरमा प्रदेश नं १ का प्रमुख सचिव यादवराज कोइरालालगायत उच्चपदस्थ कर्मचारी, वरिष्ठ सुरक्षा अधिकारी, प्रदेशसभा सदस्यलगायत सर्वसाधारणको उपस्थिति थियो ।


