अब बिराटनगरबाटै भिसा र माउन्टेन फ्लाइट : नवनियुक्त मन्त्री कुसियत
इटहरी । प्रदेश १ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियतले विराटनगरबाटै पर्यटकहरुलाई अनअराइभल भिसा र माउन्टेन फ्लाइटको प्रवन्ध गरिने बताएका छन् ।
‘जोगवनी प्रदेश १ को मात्रै नभएर देशकै व्यस्त नाका हो । यहाँबाट भारत हुँदै आएका तेस्रो देशका पर्यटकलाई अनअराइभल भिसा दिएर प्रदेश १ मा तान्न सकिन्छ’ मन्त्री कुसियतले शुक्रबार सञ्चारकर्मीसँग भने, ‘यसका लागि विराटनगरमा अध्यागमन कार्यालय राखेर काम अगाडि बढाउन पहल गर्छु ।’
पर्यटन प्रदेश १ को वैदेशिक मुद्रा आर्जनको एक बलियो आधार भएको भन्दै उनले अनअराइभल भिसा दिन सकिने बताए । ‘पटना घुम्न आएका युरोपेली र अमेरिकन काँकडभिट्टा पुगेर मात्रै प्रदेश १ पस्न पाउँछन्’ कुसियतले भने, ‘तर, जोगवनीको सीमानामै अनअराइभल भिसा दिने हो भने पर्यटकहरु यहीँबाट नेपाल आउँछन् ।’
मन्त्री कुसियतले हाल काठमाडौंबाट मात्रै हुँदै आएको माउन्टेन फ्लाइट विराटनगरबाटै गराउने योजना रहेको पत्रकारहरुलाई सुनाए । ‘अहिले माउन्टेन फ्लाइट गर्न चाहने पूर्वेलीहरुलाई काठमाडौं पुग्नुपर्ने अवस्था छ’ कुसियतले भने, ‘प्रदेश १ को भद्रपुर अथवा बिराटनगरबाटै माउन्टेन फ्लाइट गरेको अवस्थामा धरै सजिलो हुन्छ ।’
प्रदेश सरकारले अनअराइभल भिसा र माउन्टेन फ्लाइटलाई व्यवस्थित गर्न सक्दो पहल गर्ने मन्त्री कुसियतले बताए ।


