देश बिकाशको खाका बनाउन व्यस्त प्रधानमन्त्री ओली : ‘फास्ट ट्रयाक’बाट बिकाशका योजना अघि बढाइने

काठमाण्डौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार पदभार ग्रहण लगत्तै सुशासन, विकास लगायतका विषयमा सरकारको ५ बुँदे घोषणा गरे । प्रधानमन्त्री नियुक्त हनुअुघि नै उनले चुनावी घोषणा पत्रमा उल्लेखित योजना अनुरुप कामको खाका बनाउन कार्यदल गठन गरेका थिए ।

उक्त कार्यदलले अल्पकालीन र दीर्घकालीन रुपमा गर्ने कामको खाका बनाएर आजै प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ । एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएपछि सरकारले त्यसैलाई कार्यरुप दिने वताइएको छ ।

विकास निर्माणका काम लामो समयसम्म पूरा हुन नसक्नुको कारण समेत खोज्दै कार्यदलले सार्वजनिक खरिद ऐनको लामो प्रक्रिया छोट्याएर फास्टट्र्याकमा काम गर्ने विधि निर्माणको तयारीमा प्रधानमन्त्री ओली छन् । ओलीले प्रधानमन्त्रीको पदभार सम्हालेकै दिन सवै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरिसकेका छन् ।

ओली नेतृत्वको सरकारले शिक्षा ऐनलाई संशोधन गरी सरकारी विद्यालयलाई प्रवद्र्धन गर्नेगरी नीति ल्याउने तयारी गरेको छ । ७ वटै प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गर्ने, तराई मधेसमा रोजगारीका कार्यक्रम सञ्चालन गर्ने, पोलिटेक्निकल विश्वविद्यालय स्थापना गरी प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्ने लगायतका कार्यक्रम ओली सरकारले ल्याउने तयारी गरेको छ । चीनसँग जोड्ने रेलमार्ग, पूर्व पश्चिम रेलमार्ग र सडक पूर्वाधार जस्ता ठूला विकास योजनाको खाका पनि सरकारले सार्वजनिक गर्न लागेको छ । जसमा २ वर्ष, ३ वर्ष र ५ वर्ष भित्र सम्पन्न गरिने कामको सूची हुनेछ ।

निर्वाचन सम्पन्न भए लगत्तै निर्वाचन आयोगले परिणाम दिन ढिलाई गरेपछि ओलीले विकास र समृद्धिको योजना तय गर्न गठबन्धन दल माओवादी समेतको सहभागितामा टिम परिचालन गरेका थिए । एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा दुवै दलका नेता र विज्ञ सामेल गरेर सुशासन तथा समृद्धि सम्बन्धी कार्यदल गठन गरिएको थियो । यसमा एमाले नेताहरु भीम रावल, डा. विजय पौडेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडा र माओवादीका तर्फबाट नेताहरु वर्षमान पुन, गिरिराजमणि पोखरेल र योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ रहेका थिए । उक्त कार्यदलले आजै प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने वताइएको छ ।

यसपटक चुनाव सकिएको ३ महिना वितेपछि बल्ल सत्ता हस्तान्तरण भयो । २००७ साल देखि यता कुनै पनि प्रधानमन्त्रीले ५ वर्षको पूरा समय काम गर्न पाएका छैनन् । दुईतिहाई बहुमत ल्याएका बीपी कोइराला समेत सरकारबाट हटाइए । त्यसैले नेपालमा नेतृत्व चयन हुने, शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने र त्यस्तो नेतृत्वले जिम्मेवारी बहन गर्नुअघि ट्रन्जिसन टिम बनाएर काम गर्ने कुरा कल्पना बाहिरकै थियो । तर, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुनुभन्दा करिव एक महिना अघिदेखि नयाँ सरकारले गर्ने कामको खाका कोरेका हुन् ।

निर्वाचन सम्पन्न भएपछि तत्काल परिणाम आउने र तत्काल नयाँ सरकार बन्ने अपेक्षा आम नागरिकको थियो । यसमा जनमत गुमाएको सरकारले राष्ट्रियसभा निर्वाचनको अत्तो थापेर भाँजो हाल्यो र निर्वाचन आयोग त्यसमा सहयोगी भइदियो । यहि कारण नयाँ सरकार गठनको समय लम्बिने भएपछि वाम गठबन्धनका दुई शीर्ष नेताहरु एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपसी सल्लाह अनुसार विभिन्न जिम्मेवारी तोकेर अनौपचारिक नै भए पनि ट्रान्जिसन टिम बनाएका हुन् । ओलीले गठबन्धनको घोषणा पत्रमा भएका विकासका प्रमुख परिकल्पनालाई नयाँ सरकारले लागू गर्ने कार्यक्रममा बदल्ने तयारी गरेका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।