देशभर गाडी चार्जिङ स्टेसन स्थापना गर्ने कुलमानको योजना

काठमाण्डौं, ६ फागुन । विद्युत प्राधिकरणले मुलुकभर विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन स्थापनाबारे अध्ययन सुरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं अध्ययनमा संलग्न भएका छन् ।

ऊर्जा मन्त्रालयका इन्जिनियर गणेश शाहको सहयोगमा स्टेसन स्थापनाका लागि सम्भाव्य स्थान छनोट गर्न लागिएको घिसिङले बताए । ‘प्राधिकरणकै जग्गामा स्थापना गर्न सकिनेबारे अध्ययन थालेका छौं,’ घिसिङ भन्छन्, ‘त्यसबाहेकका स्थान पनि छनोट गर्नेछौं ।’

लोडसेडिङ हटाएर चौबीसै घण्टा बिजुली उपलब्ध गराउन सफल भएका घिसिङले भविष्यमा उत्पादित विद्युत् खपतका नयाँ क्षेत्र पहिचानलाई प्राथमिकतामा राखेका छन् । उनका अनुसार चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि वर्षायाममा मागभन्दा बढी बिजुली उपलब्ध हुनेछ ।

खासगरी, राति बढी हुने ऊर्जाको प्रयोगबाट विद्युतीय सवारी साधन प्रबर्द्धनको योजनामा रहेका छन्, घिसिङ । खेर जाने बिजुलीलाई विद्युतीय सवारी साधन चार्जिङमा लगाउन सके व्यापार घाटा घटाउन पनि योगदान पुग्ने देखिन्छ । खासगरी, भारतबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने अवस्थाबाट मुलुकलाई त्राण दिलाउने घिसिङको सोच छ ।

पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको संख्या बढ्दै जाँदा व्यापार घाटा पनि दिनप्रतिदिन फराकिलो बन्दै गएको छ । त्यसलाई रोक्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुको विकल्प नभएको घिसिङ बताउँछन् ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष ०७४-७५ को ६ महिनामा पेट्रोलियम पदार्थ, मेसिनरी, पार्टपूर्जा, सवारी साधन, सुन र पोलिथिन आयात बढेको छ । मेसिनरी पार्टपूर्जाको आयात घटाउन तत्काल सम्भव नभए पनि विद्युतीय गाडीको प्रयोग बढाएर इन्धन आयात घटाउन सकिने सम्भावना छ ।

व्यापार घाटाको खाडल घटाउन विद्युतीय सवारी साधनको प्रयोग नै उत्तम विकल्प हुनेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वणिर्म वाग्ले पनि सहमत छन् । भन्छन्, ‘नयाँ सरकारले यसलाई प्राथमिकता दिनुपर्छ ।’

विज्ञहरुका अनुसार पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरुले प्रतिकिलोमिटर सात रुपैयाँ खर्च गर्छन् । विद्युतीय सवारी साधनमा भने प्रतिकिमि दुई रुपैयाँ मात्र खर्च हुन्छ । त्यही लाभ देखेर प्राधिकरणले पनि विद्युतीय सवारी साधनको प्रबर्द्धनका लागि चार्जिङ स्टेसनहरु स्थापना गर्न लागेको हो ।

आयातीत बिजुलीबाट चार्ज गरेर सवारी साधन गुडाउँदा फाइदा पुग्ने घिसिङ बताउँछन् । आयातीत विद्युतबाट चार्ज गर्नुभन्दा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन गुडाउँदा महँगो पर्छ । राति घरेलु प्रयोजनमा विद्युत् प्रयोग हुँदैन । उक्त समयको महशुल घटाएर विद्युतीय गाडी चार्ज गराउन प्रोत्साहित गर्ने घिसिङको योजना छ । काठमाण्डूटुडे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।