शीघ्र, विश्वसनीय र निष्पक्ष समाचार सम्प्रेषण गरेर रासस ले व्यवहारमा उतार्नुपर्नेमा विज्ञहरुको जोड
राससका विभिन्न व्यक्तित्व सम्मानित
काठमाडौँ, ७ फागुन । नेपालको संविधानले प्रत्याभूत गरेको सूचनाको हकलाई शीघ्र, विश्वसनीय र निष्पक्ष समाचार सम्प्रेषण गरेर राष्ट्रिय समाचार समिति (रासस) ले व्यवहारमा उतार्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

राससको ५७औँ वार्षिकोत्सवको अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सूचना तथा सञ्चार सचिव केदारबहादुर अधिकारीले सत्यतथ्य र निष्पक्ष समाचार सम्प्रेषण गरेर राससलाई संस्थागतरुपमा सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सञ्चार क्षेत्रसम्बद्ध सबै संस्थालाई सबल र सक्षम बनाउन आमससञ्चार प्रतिष्ठान जस्तो कुनै एक प्राज्ञिक संस्थाको आवश्यकता रहेको विचार पनि प्रकट गर्नुभयो ।
सञ्चार सचिव अधिकारीले राससको उन्नयनका लागि आवश्यक पर्ने कानूनी सुधार र विकासका विविध पक्षमा मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “राससले बनाएको गौरवपूर्ण इतिहासलाई निभ्न दिन हुँदैन । मानव संसाधन र पूर्वाधार विकासलाई सँगै लैजानुपर्छ । त्यसका लागि मन्त्रालयले पूर्णरुपमा सहयोग गर्छ ।”
उहाँले संघीय संरचनाअनुसार राससलाई परिणाममुखी बनाउन आग्रह गर्नुभयो र एक मात्र आधिकारिक युनियन बनाएर जान कर्मचारीहरुलाई सुझाव दिनुभयो ।
राससका अध्यक्ष कुलचन्द्र वाग्लेले राज्यद्वारा सञ्चालित मुलुकको एकमात्र आधिकारिक समाचार संस्था राससका सेवाग्राही र अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुसँग सहकार्य तथा समन्वय गरेर अगाडि बढिरहेको बताउनुभयो । उहाँले राससका सबै कर्मचारीको स्वास्थ्य बीमा शुरुआत गरिएको जानकारी पनि दिनुभयो ।
यो बीमाबाट राससका हरेक कर्मचारीका परिवारका पाँच सदस्यसम्मका लागि रु ५० हजार बराबरको उपचार सुविधा प्राप्त हुनेछ । त्यसका लागि प्रतिपरिवार प्रतिवर्ष राससले रु दुई हजार ५०० भुक्तानी दिनेछ ।
महाप्रबन्धक ओपेन्द्र शर्माले प्रादेशिक संरचनाअनुरुप राससलाई समयानुकूल बनाउन पहल भइरहेको र समाचारको गुणस्तर वृद्धि गर्न स्पष्ट योजनासहित अगाडि बढेको बताउनुभयो । उहाँले रासस सञ्चारमाध्यमहरुको केन्द्रबिन्दु भएको उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार संस्थासँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा रासस समाचारदाता प्रकाश सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीले राससको वार्षिकोत्सवका अवसरमा परिवर्तित सन्दर्भमा समाचारिय प्राथमिकता र शैलीमा परिवर्तन गनुपर्ने सुझावसहित पठाउनुभएको शुभकामना सन्देश वाचन गर्नुभएको थियो ।
नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले मुलुकको संघीय संरचनाअनुसार सातवटै प्रदेशबाट समाचार उत्पादन गरी सञ्चारमाध्यमलाई सहज रुपमा उपलब्ध गराउन राससले तयारी गरिरहेको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिलीप थापामगरले राससले देशका कुनाकाप्चामा रहेका सञ्चारमाध्यमलाई समाचार उपलब्ध गराउँदै आएको उल्लेख गर्दै राससमा कार्यरत सम्पूर्ण पत्रकारको अधिकारलाई सम्मान हुनुपर्ने विचार प्रकट गर्नुभयो ।
वरिष्ठ पत्रकार भैरव रिसालले आफूले विगतमा गरेको सक्रिय पत्रकारिताको स्मरण गर्दै प्रविधिको विकाससँगै समाचार सम्प्रेषण शीघ्रता आए पनि पत्रकारको मेहनत र अध्ययनमा कमी देखापरेको उल्लेख गर्नुभयो ।
सो अवसरमा नेपाल पत्रकार समहासंघ रासस शाखाका अध्यक्ष नारायणप्रसाद घिमिरे, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्का, रासस कर्मचारी संघका अध्यक्ष मनोज लामिछाने र रासस कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष रामलाल श्रेष्ठले संस्थाको उन्नति र प्रगतिको कामना गर्नुभएको थियो ।
राससका विभिन्न व्यक्तित्व सम्मानित

राष्ट्रिय समाचार समिति (रासस)को ५७औँ वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ, रासस शाखाले राससमा कार्यरत विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।
आज केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा आयोजित विशेष समारोहबीच राससका पूर्व निमित्त महाप्रबन्धक एवं वरिष्ठ पत्रकार गोकुल पोखरेललाई विशेष सम्मान गरिएको छ ।
त्यसैगरी, महासंघ रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ राससका कार्यकारी सम्पादक शीतलप्रसाद महतो र सहसम्पादक मदन गौतमलाई जनही रु १० हजार नगदसहित सम्मान गरिएको छ ।
यस वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’बाट राससका बाजुरा जिल्ला समाचारदाता (स्ट्रिन्जर) प्रेम रौलेलाई नगद रु पाँच हजारसहित सम्मान गरियो । सो पुरस्कार रासस राप्ती अञ्चल समाचारदाता नारायणी रजौरेले आफ्ना मातापिता र भाइका स्मृतिमा स्थापना गर्नुभएको हो । उक्त पुरस्कार सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रदान गर्नुभयो ।
यस्तै, रासस कर्मचारी संघका तर्फबाट प्रदान गरिने ‘वासु रिमाल यात्री पुरस्कार’ राससका उपव्यवस्थापक प्रेम बस्नेत र रासस कार्यालय विराटनगर (प्रदेश नं १) का कार्यालय सहयोगी कृष्णप्रसाद वाग्लेलाई जनही रु पाँच हजारसहित सम्मान गरियो ।
यसैगरी, राससको भौतिक सम्पत्ति संरक्षण सम्वद्र्धन र विस्तारमा अहम भूमिका निर्वाह गरेबापत (रासस तुलसीपुर कार्यालय, प्रदेश नं ५) का नारायणी रजौरे र (रासस भीमदत्तनगर कार्यालय, प्रदेश नं ७) का शेरबहादुर सिंहलाई सम्मान गरिएको छ । राससका कर्मचारीका लागि स्वास्थ्य शिविर र स्वास्थ्य बीमा कार्यक्रम ल्याउन भूमिका निर्वाह गरेबापत अन्तर्राष्ट्रिय शाखाका जीवन भण्डारीलाई कदरपत्रसहित सम्मान गरिएको छ । ती सबै पुरस्कार राससका अध्यक्ष कुलचन्द्र वाग्लेले प्रदान गर्नुभयो ।
यस्तै, नेपाल राष्ट्रिय कर्मचारी संगठन रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’बाट राससका सहव्यवस्थापक जगतकृष्ण श्रेष्ठ र वरिष्ठ कार्यालय सहायक रजनी बज्राचार्यलाई नगद रु पाँच हजार ५०० सहित सम्मान गरियो ।


