देउवा नेतृत्व सरकारको निर्णय खारेज गर्दै नयाँ राष्ट्रियसभा सदस्यको नाम सिफारिश
काठमाण्डौ । नयाँ सरकारले शेरबहादुर देउवा नेतृत्व सरकारको निर्णय खारेज गर्दै नयाँ राष्ट्रियसभा सदस्यको नाम सिफारिश गरेको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो ।
सवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभामा ५९ जना सांसद रहनेछन् । जसमध्ये ५६ जना प्रत्येक प्रदेशबाट ८-८ जनाका दरले चुनिएर आउनेछन् भने ३ जना राष्ट्रपतिद्धारा मनोनित हुने व्यवस्था छ ।
यसअघि देउवा सरकारले गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको नाम राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । तर, केपी ओली नेतृत्वको नयाँ सरकारले सो निर्णयलाई खारेज गर्दै नयाँ सदस्य सिफारिश गरेको हो ।


