अबका ५ वर्ष केपी ओली नै प्रधानमन्त्री ! : प्रचण्ड
भरतपुर, ८ फागुन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवका ५ वर्ष केपी ओली नै प्रधानमन्त्री भएको वताएका छन् । मंगलवार चितवन आएका माओवादी अध्यक्ष प्रचण्डले बीचमा पार्टीको एकता महाधिवेशन हुने र त्यसले अन्यथा निर्णय लिए बाहेक अवका ५ वर्ष ओली प्रधानमन्त्री रहने वताए । चक्रपथमा खबर छ ।

५ वर्षका लागि नै उहाँ (ओली) नै प्रधानमन्त्री हो कि आलोपालो हो भन्ने प्रश्नको उत्तर दिंदै प्रचण्डले भने, ‘अहिलेलाई कमरेड केपी ओली नै पाँचै बर्षका लागि प्रधानमन्त्री हो। महाधिवेशनले अर्को निर्णय गरेछ भने मैले भन्न सक्दिन ।’
प्रचण्डले ५ वर्षका लागि ओली प्रधानमन्त्री रहेको स्पष्ट पारे पनि केहि सञ्चार माध्यमहरुले भने ओली प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको दावी गरिरहेका छन् ।
एमाले र माओवादीको एकता गरेर डेढ, दुई वर्षभित्र महाधिवेशन गर्ने योजना रहेको उनले बताए । प्रचण्डले भने, महाधिवेशनका लागि ५ वर्ष कुर्ने समय छैन । डेढ–दुई वर्षमा महाधिवेशन गर्छौ । केपी ओली प्रधानमन्त्री हुनुहुन्छ ।’
एमाले र माओवादीको एकता महाधिवेशन नहुँदासम्म ओली र आफूले सहमतिमा पार्टी चलाउने उनले बताए । प्रचण्डले भने, पालोपालो बैंठकको अध्यक्षता हुन्छ, पत्राचार गर्दा दुवै जनाको हस्ताक्षर हुन्छ ।’
पार्टी एकताको औपचारिक घोषणा फागुनभित्रै गर्ने तयारी भइरहेको उनले बताए । ‘राष्ट्रपति उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन लगत्तै र पार्टी एकताको प्राविधिक बिषय मिलाउने समितिको प्रतिवेदन आएपछि औपचारिक घोषणा हुन्छ’ प्रचण्डले भने ।
आजै मन्त्री पठाइने
प्रचण्डले माओवादी पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरु आजै पठाउने जानकारी दिए । २–३ जना मन्त्री पठाउने तयारी भइरहेको भन्दै उनले भने, ‘सरकारले छिट्टै पूर्णता पाउँछ त्यसमा केही समस्या छैन ।’


