सकियो वाम कार्यदलको बैठक, के भयो निर्णय ?
एमाले स्थायी समिति बैठक बस्दै
काठमाडौँ, १० फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठन गरेका दुई कार्यदलले १५ दिनभित्र प्रतिवेदन बुझाउने भएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई कार्यदलको बैठकले १५ दिनभित्र प्रतिवेदन बुझाउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री समेत रहका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आवश्यक निर्देशन दिएका छन् ।
पार्टी एकताको आधार पत्रमा हस्ताक्षर गरेकै दिन ७ फागुनमा एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले बैचारिक दस्तावेज निर्माण र संगठनात्मक स्वरुप एबं विधान निर्माण सम्बन्धी कार्यदलको गठन गरेका थिए ।
कार्यदलले तयार पारेको प्रस्ताव दुवै पार्टीका अध्यक्षलाई बुझाउनेछन् । कार्यदलले एकीकृत पार्टीको अन्तरिम विधानको मस्यौदा तय गर्ने जिम्मेवारी पाएको छ । कार्यदलको प्रतिवेदनका आधारमा दुवै अध्यक्षले पार्टीको संगठनात्मक तथा सैद्धान्तिक आधार टुंगो लगाउने बताइएको छ ।
बैचारिक दस्तावेज निर्माण सम्बन्धी कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, सुवाष नेम्वाङ, रघुजी पन्त छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भूषाल र देवेन्द्र पौडेल सदस्य छन् ।
संगठनात्मक स्वरुप र विधान निर्माण सम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, बिष्णु पौडेल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, बेदुराम भूषाल, रघुबीर महासेठ सदस्य छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’, बर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, मातृका यादव सदस्य छन् ।
एमाले स्थायी समिति बैठक बस्दै:
सत्तारुढ नेकपा एमालेको स्थायी समिति बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटामार केहीबेरमा बस्ने बैठकमा सरकार विस्तार, पार्टी एकता र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
प्रधामन्त्री ओलीले बिहीबार नै सरकार विस्तार गर्ने सोच बनाएका छन् । बैठकमा सरकारमा क–कसलाई पठाउने भन्ने विषयमा निर्णय हुन सक्ने बताइएको छ । साथै, पार्टी एकताका लागि गठन भएको कार्यदलमा गर्नुपर्ने कामका विषयमा पनि केही कुरा हुनसक्ने नेताहरुले बताएका छन् । बिहीबार मात्रै बालुवाटारमा एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बसेको थियो । कार्यदल बैठक अघि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो । दुवै नेता आ–आफ्नो पार्टीभित्र छलफल गरि बिहीबार नै मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा रहेको बुझिएको छ ।
एमालेबाट मन्त्री बन्ने संभावनाको सूचीमा भीमबहादुर रावल, इश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, रघुवीर महासेठ, सुमन प्याकुरेल, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, पार्वत गुरुङ, गोकुल बास्कोटा, रामवीर मानन्धर, जगत विश्वकर्मा, पदमा अर्याल, धनबहादुर बुढा, नवराज रावत, प्रेम आले, गणेशसिंह ठगुन्ना रहेका लगायत रहेको बुझिएको छ ।
मन्त्रालयको संख्या घट्ने र सत्तासाझेदार माओवादीले ७ वटासम्म मन्त्रालय माग गरेपछि यीमध्ये धेरै नेताको यसपाली मन्त्री बन्ने यात्रा रोकिनेछ । यसअघि एमालेबाट लालबाबु पण्डित र थममाया थापा मगर मन्त्री भइसकेका छन् ।


