मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

काठमाडौँ, १० फागुन । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानले व्यवस्था गरेअनुसार मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको हो । “संविधानले संघ र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला रहने अनिवार्य व्यवस्था गरेको छ, त्यसअनुसार महिला प्रतिनिधित्व हुनुपर्छ,”, उहाँले भन्नुभयो ।

मन्त्री थापाले स्थानीय तह बलियो भएमात्र संविधान कार्यान्वयन गर्न सजिलो हुने भएकाले विकास निर्माणमा स्थानीय क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

नेकपा (एमाले)का नेता महेश बस्नेतले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताउनुभयो । “नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच छलफल भइरहेको छ, अब चाँडै नै निष्कर्षमा पुगेर मन्त्रिपरिषद् विस्तार हुन्छ”, उहाँले भन्नुभयो ।

नेता बस्नेतले मुलुकको समृद्धि र प्रविधियुक्त नेपाल वर्तमान सरकारको प्रमुख एजेण्डा हुने बताउनुभयो । सबै हिसाबले प्रदेश नं ३ को राजधानी भक्तपुर मिल्ने भएकाले भक्तपुर राजधानी बनाउनुपर्ने उहाँको भनाइ थियो ।

नेपाली काँग्रेसका नेता रामकृष्ण यादवले जनताको जनादेशअनुसार काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । “राम्रो काम गरे हामी सरकारलाई सहयोग गर्छौं, नराम्रो काम गरे खबरदारी गर्छौं”, उहाँले भन्नुभयो । नेपाली काँग्रेसको संसदीय दलको नेतामा युवालाई अवसर दिनुपर्ने उहाँको भनाइ थियो ।

माओवादी केन्द्रका नेता अमललाल मोदीले मुलुकको विकासका लागि वाम एकता भएको बताउनुभयो । उहाँले चाँडै नै मन्त्रिपरिषद् विस्तार हुने र समावेशी र समानुपातिक प्रक्रिया अपनाए आफू मन्त्री बन्ने स्पष्ट पार्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।