राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिल्यो, कसलाई कुन पद ?
काठमाण्डौ, ११ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिलेको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रचण्डको पछिल्लो भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा लगभग टुंगिएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् ।
राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष लिनेछ ।
एमालेले माओवादीलाई राष्ट्रियसभा अध्यक्ष लिएर सभामुख आफूलाई दिन प्रस्ताव गरेको छ । संविधानसभाका तत्कालीन अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङलाई फेरि सभामुख बनाउने एमाले अध्यक्ष ओलीको प्रस्ताव थियो ।
तर, माओवादीले मानेको छैन । माओवादीमा सभामुखको प्रमुख दाबेदारका रुपमा कृष्णबहादुर महरालाई हेरिएको छ ।
यद्यपि मधेसी दलहरुलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेकाले उनीहरुसँग सहमति भएको अवस्थामा केही हेरफेर हुन सक्ने नेताहरु बताउँछन् ।


