चीन सरकारकै सहयोगमा निर्माण भएको ‘दशरथ रंगशाला’ सवा अर्व लगानीमा पुनः संरचना बनाइदिंदै चीन
काठमाडौं, १२ फागुन । दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । यसअघि चीन सरकारकै सहयोगमा निर्माण भएको दशरथ रंगशालाका संरचना पुनर्निर्माण पनि चीनले गरिदिने भएको हो ।
आठौँ सागका लागि सन् १९९८ मा चीनले रंगशालामा संरचना निर्माण गरिदिएको थियो । ती संरचना पुनर्निर्माण गर्ने सम्झौता नेपाल सरकारसँग सम्झौता भइसकेको छ ।
अहिले चिनियाँ टोली विगतमा आफूले निर्माण गरेका काठमाडौंका संरचनाको अवलोकन गरिरहेको छ । चीनले दशरथ रंगशालामा फ्रड लाइट, एथलेटिक ट्रयाक, स्कोर बोर्ड (पूरै नयाँ), दशरथ स्टेडियमको साउन्ड सिस्टम बनाइदिनेछ । ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल मर्मत, सुटिङ रेन्च सिस्टम पनि पूरै परिवर्तन गर्दैछ । काठमाडौंको लैनचौरस्थित कबर्डहलको साउन्ड सिस्टम परिवर्तनलगायत संरचना पुनर्निमाण गर्ने चीनले जनाएको छ । यो संरचना बनाउन करिब १ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
पुनर्निर्माणका लागि लाग्ने सम्पूर्ण खर्च चीनले नै व्यहोर्नेछ । तर, निर्माणमा आवश्यक सामान चीनबाट आयात गर्दा लाग्ने कर भने नेपाल सरकारले छुट दिने सम्झौता भएको छ । संरचना निर्माणका लागि आवश्यक दक्ष जनशक्ति, कन्सल्ट्यान्ट तथा टेन्डर पनि आफैँले गर्ने गरी सम्झौता भएको छ ।
६ महिनाभित्र दशरथ रंगशाला पुनर्निर्माण सक्ने योजना छ । त्यसपछि एथलेटिक ट्रयाक निर्माण सुरु हुनेछ । आवश्यक उपकरण तथा सामग्रीमा लाग्ने भन्सार छुटको सम्झौता भएसँगै पुनर्निर्माण जतिसक्दो चाँडो थाल्ने चीनले जनाएको छ ।


