निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अबको अभियान मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउने भएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले भने, ‘महासंघजस्तो निजी क्षेत्रको संशक्त प्रतिनिधिमूलक संस्था र नेतृत्व नै मेरो कार्यक्रमलाई सफल पार्ने ऊर्जा हो। इन्जिन हो। अबको आर्थिक विकासको नेतृत्वदायी भूमिका लिन तपाईंहरू तयार हुनुहोस्।’
उनले अगाडि भने, ‘निजी क्षेत्रले मुलुकभित्र उद्योग व्यवसाय विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने, आर्थिक वातावरण बनाउने काममा आजैबाट लाग्नुहोस्। मैले के गर्नुपर्छ ठोस सुझाव ल्याउनुहोस्। मुलुकको समृद्धिका लागि तपाईंले ल्याउने जुनसुकै सहयोग गर्न म तयार छ।’ प्रधानमन्त्री ओलीले अब कुनै प्रकारको श्रम समस्या नआउने र औद्योगिक व्यावसायिक वातावरण सुमधुर बन्ने सुनिश्चितता समेत दिलाए।
प्रधानमन्त्री ओलीले महासंघले केही समयअघि आयोजना गरेको आर्थिक बहस कार्यक्रमको स्मरण गर्दै सो कार्यक्रममा आफूले भनेजस्तै निजी क्षेत्र र प्रतिष्ठित उद्यमी व्यवसायी सम्मिलित एक परामर्श समूह बनाई कार्य गर्ने विश्वाससमेत दिलाए।
मुलुकभित्र यस अवधिमा निजी क्षेत्रका तर्फबाट महासंघले निर्वाह गरेको भूमिकाप्रति अत्यन्त खुसी भएको र महासंघले दिएका सुझावलाई आफूले आफ्नो कार्यकालमा कार्यान्वयनसमेत गरेको उनले स्मरण गरे। अहिले पनि निकै राम्रा सुझाव आएका छन् र ती सुझावलाई सरकारका नीति तथा कार्यक्रममा राख्ने प्रतिबद्धता व्यक्त गरे।
भेटमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्य, महासंघका महासचिव सुरेश मान श्रेष्ठ, सदस्य संघसंस्थाका प्रतिनिधि सहभागी थिए।
अध्यक्ष राणाले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिँदै मुलुकलाई अब आर्थिक समृद्धितर्फ अगाडि बढाउन प्रधानमन्त्रीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिन्। मुलुक राजनीतिक रूपमा पूर्णत नयाँ संरचनामा रूपान्तरण भएकाले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै देशलाई समृद्ध बनाउने अभियानमा सरकार लाग्नु पर्ने उनको सुझाव थियो।
उद्यमी व्यवसायीले स्थानीय तहमा अहिले पनि निकै धेरै समस्या झेल्नु परेकाले यस्ता विषयमा अहिलेदेखि नै निजी क्षेत्रलाई आश्वस्त पार्न आग्रह गर्दै अध्यक्ष राणाले प्रधानमन्त्रीसमक्ष आफ्नो बिचार राखेकी थिइन्।


