राष्ट्रपति भण्डारीबाट शिलान्यास भएको तीन वर्ष बितिसक्दा पनि रानीपोखरी पुनःनिर्माण शून्य

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको तीन वर्ष बितिसक्दा पनि रानीपोखरी पुनःनिर्माणको गति शून्य रहेको छ ।

विसं २०७२ मा गएको भूकम्पबाट पूर्णरूपमा क्षति भएको ऐतिहासिक रानीपोखरी सोही वर्ष माघ २ गते राष्ट्र प्रमुखबाट शिलान्यास भएको थियो । विसं २०७३ को तिहारका लागि प्रयोगमा ल्याइने भन्दै शिलान्यास भएको रानीपोखरीको पुनःनिर्माणको प्रगति अहिले पनि शून्य नै रहेको छ ।

रानीपोखरी पुनःनिर्माणको जिम्मा काठमाडौँ महानगरको हो । पोखरीको पुनःनिर्माण गर्ने भन्दै यसअघि कामपाले तेस्रोपटक बोलपत्र गरिसकेको छ । पुनःनिर्माणकै लागि अबको केही दिनमा चौथोपटक बोलपत्र आह्वान गर्ने तयारी कामपाको रहेको छ ।

कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार विगत तीन वर्ष रानीपोखरी पुनःनिर्माण कार्य विवादमै रुमल्लिए पनि आगामी तिहारमा प्रयोग गर्न सकिने गरी अब निर्माणको तयारीमा कामपा जुटेको छ ।

कामपाले पोखरीमा र पोखरी आसपासमा कङ्क्रिट प्रयोग गरेको भन्दै उत्पन्न लामो विवादपछि रानीपोखरीलाई प्राचीन मल्लकालीन शैलीमै निर्माण गर्ने सहमतिका साथ टुङ्गिएको छ । विज्ञ समूहको अध्ययनका आधारमा रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण ग्रन्थकुट शैलीमा निर्माण गर्ने सहमति पनि भइसकेको छ ।

अहिले रानीपोखरी सुख्खा चौरमा परिणत भएको छ । यसअघि जस्तै विवाद भइराख्ने हो भने आगामी तिहारसम्ममा पनि पोखरी बन्ने कि नबन्ने भन्ने अन्योल कायमै छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आउँदो तिहारअघि रानीपोखरीमा पानी भरिने र मन्दिर निर्माण भइसक्ने दाबी गरेको छ ।

रानीपोखरी पुनःनिर्माणका विषयमा भएका विवाद समाधान भइसकेकाले काममा अवरोध नहुने प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले बताउनुभएको छ । “रानीपोखरी पुनःनिर्माणका विषयमा विगतमा ठूलो बहस पनि सिर्जना भयो तर, अहिले विवादलाई टुङ्गो लगाएर अगाडि बढेका छौँ”, ज्ञवालीले भन्नुभयो ।

पोखरीको पिँधमा परम्परागत शैलीकै निर्माण सामग्रीको प्रयोग गरेर पानीलाई रोक्ने व्यवस्था र वरिपरिको पर्खालको पुनःनिर्माणको जिम्मा काठमाडौँ महानगरपालिकाले लिएको छ । मन्दिर निर्माण भने पुरात्व विभागले गर्नेछ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।