रहेनन् वरिष्ठ साहित्यकार मोहनराज शर्मा !

काठमाडौँ । वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज ८१ वर्षको उमेरमा निधन भएको छ।

मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उनको कलङ्कीस्थित नेशनल अस्पतालमा आज बिहान निधन भएको हो। शर्माका समालोचनाका साथै नाटक, कथा, कविता, उपन्यास, भाषाशास्त्र आदि विषयमा प्रशस्तै कृति प्रकाशित छन्। उच्च शिक्षाको नेपाली विषयमा शर्माका कृतिहरूको अध्ययन गरिन्छ। उनको जन्म विसं १९९४ कात्तिकमा काठमाडौँमा भएको थियो।

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रा डा लक्ष्मणप्रसाद गौतमका अनुसार शर्माका छोरा विदेशबाट आउन समय लाग्ने भएकाले शुक्रबार मात्र अन्त्येष्टि गरिनेछ।

शर्माको पार्थिव शरीर आज पशुपतिको शवगृहमा राखिएको छ। डा गौतमले शर्मा आफ्ना विद्यावारिधि गुरुसमेत रहेको स्मरण गर्दै उनले नेपाली साहित्यका प्रायः सबै विधामा योगदान दिएको बताए।

उनको ‘नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना (संयुक्त)’, ‘नेपालका केही आधुनिक साहित्यकार’, ‘कथाको विकास प्रक्रिया’, ‘जेमन्त र यमा’, ‘वैकुण्ठ एक्सप्रेस’ (नाटक), ‘कोर्रा’ कथासङ्ग्रह, ‘पुछारको पातो, ‘मि झप्पु सिंह’, ‘च्याँखेधर्ना’ ‘हास्यव्यङ्ग्य’ (निबन्ध सङ्ग्रह), ‘शैलीविज्ञान’, ‘रचना र वर्ण विन्यास वैज्ञानिक पद्धति’ लगायत कृति प्रकाशित छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले शर्माको दुःखद निधन भएको खबर पाइएको उल्लेख गर्दै यसबाट नेपाली साहित्यका लागि अपूरणीय क्षति पुगेको बताए। स्थान र उचित वातावरणको अभावमा कमलादीस्थित प्रतिष्ठानको परिसरमा दिवङ्गत स्रष्टाको शव राखिने क्रम गत वर्षदेखि रोकिएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।