घरमा आउजाउ गर्ने व्यक्तिद्वारा नै चिकित्सककी छोरीको अपहरण, पैसा बुझाएपछि फिर्ता

काठमाडौँ, १२ माघ । प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई घरमा आउजाउ गर्ने व्यक्तिले नै अपहरण गरेका छन् ।

प्रहरी परिसर काठमाडौँको प्रारम्भिक अनुसन्धानमा कुनै लेनदेनका विषयमा आउजाउ भएकै व्यक्तिले अपहरण गरेको देखिएको हो । परिसरका प्रमुख वसन्त लामाले घरमा जाने आउने मान्छेबाटै अपहरण गरिएको र पैसासँग सम्बन्ध रहेको बताउनुभयो । अनुसन्धान भइरहेकाले वास्तविकता खुल्दै जाने उहाँको भनाइ छ ।

शुक्रबार बिहान कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी बालिकाको अपराह्न ४ बजे सकुशल फेला पारिएको थियो । परिवारले रकम बुझेपछि जनकपुरका अपहरणकारी मनिषकुमार गुप्ताले तिलगङ्गास्थित गणेश होटल अगाडि बच्चा छाडेर फरार भएका थिए । सादा पोशाकका ४० भन्दा बढी प्रहरी परिचालन हुँदा पनि गुप्ता फरार हुन सफल भएका छन् ।

बालिकाकी आमा बबिता शाहले पनि उनी पहिले घरमा आएर बसेको स्वीकार गर्नुभएको छ । “छोरी कोहीसँग जान मन्दिन, चिनजान नै भएकाले उसँग मानेको हुनुपर्छ ।” उहाँले भन्नुभयो । पारिवारिक स्रोतका अनुसार जनकपुरमा रहेको उनीहरुको घर आधा घण्टा हिँडेर जाँदा पुग्न सकिने ठाउँमा छ ।

बबिताले घरमा छोरा र एक जना काम गर्नेसँग छोरी छाडेर अस्पताल गएपछि शुक्रबार करीब ९ बजेतिर छोरी हराएको खबर पाउनुभएको थियो । तत्कालै प्रहरी प्रभाग कोटेश्वरलाई खबर गरेपछि महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौँले बच्चाको खोजतलास थालेको थियो । शुक्रबार अपहरणकारी जोरपाटी, जम्बुडाँडा, तिलगङ्गामा लोकेसन ट्रयाक भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार जनकपुरमा रहेका उनका आफन्तबाट अपहरणकारीका परिवारले साढे दुई लाख रकम बुझेको जानकारीमा आएको छ । रकम बुझेको केहीसमयपछि नै बालिका अपहरण गर्ने गुप्ताकी श्रीमती अर्चना गुप्तालाई भने धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले तीन÷चार जना पक्राउ गरे पनि अरुले पैसा बुझेको होइन भन्ने भएपछि अर्चनालाई पक्राउ गरी आज बिहान काठमाडौँ पठाइएको जानकारी दिनुभयो । उनको साथबाट रु एक लाख ५० हजार नगदसमेत बरामद भएको प्रहरी उपरीक्षक थपलियाले बताउनुभयो ।

शुक्रबार अपहरणकारीले प्रयोग गरेको मोबाइलसमेत प्रयोग गर्न छाडेकाले नयाँ तरिकाले अनुसन्धान थालिएको प्रहरी स्रोतको भनाइ छ । आज बबिताका श्रीमान् र पक्राउ परेकी अर्चना गुप्ता काठमाडौँ आएपछि थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।