मुलुकभर दश हजार दुर्घटना : उपत्यकामा सवैभन्दा धेरै दुर्घटना, कर्णाली प्रदेशमा कम

काठमाडौँ । साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहनामा मुलुकभर उक्त सङ्ख्यामा सवारी दुर्घटना भएको हो । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । मोटरसाइकल चार हजार २३०, जिप, कार दुई हजार ९५२, बस एक हजार २४४, ट्रक, ट्याङ्कर ९८८, टिपर २५१, टेम्पो १७१ र अन्य ५१ सवारी दुर्घटना भएका छन् ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले चालकको लापरवाहीका कारण धेरै दुर्घटना हुने गरेको बताउँदै “साँघुरो बाटो, तीव्र गति र कमजोर पूर्वाधारका कारण बढी दुर्घटना भएको हो” भन्नुभयो । प्रहरीले दुर्घटना घटाउनका लागि ट्राफिक सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै पर्चा, पम्प्लेट, ब्रोसरबाट जानकारीमूलक सन्देश चालक, सहचालक र पैदलयात्रुलाई प्रदान गर्दै आएको छ ।

यसैगरी दुर्घटना न्यूनीकरण गर्न गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे गृहप्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा सातै प्रदेशमा रि–फेसिङ सेन्टर (आरामस्थल) स्थापना गरिएको छ ।

उक्त आरामस्थलमा चालक, सहचालक र पैदलयात्रुलाई आराम गर्नुका साथै ट्राफिक जनचेतनामूलक कक्षासमेत सञ्चालन गरिएको छ ।

उपत्यकामा धेरै दुर्घटना, कर्णाली प्रदेशमा कम

सवारी दुर्घटना भएकामध्ये सवैभन्दा धेरै काठमाडौँ उपत्यकामा भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा मात्र सात हजार २६० दुर्घटना भएका छन् । प्रदेश–१ मा ९२४, प्रदेश–२ मा ६६८, प्रदेश–३ मा ५३३, गण्डकी प्रदेश ३४१, प्रदेश–५ मा ७४६, कर्णाली प्रदेश ७८ र सुदूरपश्चिम प्रदेशमा १३० सवारी साधन दुर्घटना भएका छन् ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले साँघुरो बाटो र अत्यधिक सवारी साधन भएका कारण बढी दुर्घटना हने गरेको बताउनुभयो । “चालकको लापर्वाही र सवारी नियम नमान्दा बढी दुर्घटना भएको हो”, उहाँले भन्नुभयो ।

एक हजार ४१३ जनाको मृत्यु

चालू आर्थिक वर्षको छ महीनामा सवारी दुर्घटनामा परी एक हजार ४१३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक हजार ४३ पुरुष, २४५ महिला, ७६ बालक र ४९ बालिका छन् । यस्तै दुई हजार १५३ व्यक्ति गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये एक हजार ५२२ पुरुष, ४१८ महिला, १२९ बालक र ८४ बालिका छन् । यसैगरी पाँच हजार २१२ सामान्य घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लामो समयदेखि महानगरीय ट्राफिक कार्यालयमा कार्यरत पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठले ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउँदै “चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुन्छ भन्नुभयो ।”

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन सञ्चालनमा छन् । तीमध्ये झण्डै नौ लाख सवारी साधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।