सांसद र मन्त्रीबीच प्रश्नोत्तर गर्ने पाउने नयाँ अभ्यास शुरु, यस्तो छ आजको सवाल जवाफ… (भिडियो सहित)
काठमाडौँ, २३ माघ । प्रतिनिधिसभाको बैठकमा सांसद र मन्त्रीबीच प्रश्नोत्तर गर्ने पाउने नयाँ अभ्यास शुरु भएको छ ।
सांसदहरुले जनजीविका र जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीलाई प्रश्न गर्न पाउने सङ्घीय संसद् कार्यसञ्चालन नियमावलीले गरेको व्यवस्था कार्यान्वयनमा आएको हो ।
संसद् सचिवालयमा लिखितरुपमा प्रश्न राखेपछि सचिवालयले आवश्यकताका आधारमा मन्त्री र सांसदबीच प्रश्नोत्तर गराउने अभ्यास शुरु गरेको हो । सम्बन्धित विषयमा प्रश्न राखेपछि मन्त्रीले दिएको जवाफमा चित्त नबुझेपछि पुनः सांसदले पूरक प्रश्न गर्न पाउने व्यवस्था भएअनुसार आज सो कार्यकोसमेत अभ्यास गरिएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापा, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री डा युवराज खतिवडालाई सांसदहरुले प्रश्न सोध्नुभएको थियो ।

सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्री रामबहादुर थापालाई २०७५ साल साउन २१ गते भक्तपुरको काँडाघारीबाट अपरिहत ११ वर्षीय बालक निशान खड्काको हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङलाई गरिएको इन्काउण्टरबारे प्रष्ट पारिदिनुहुन्छ कि भन्ने प्रश्न गर्नुभएको थियो ।
उक्त प्रश्नको जवाफमा गृहमन्त्री थापाले सुरक्षाकर्मीलाई गोली चलाउन खोज्दा आत्मसुरक्षाका लागि प्रहरीले गोली चलाएको बताउनुभयो । उहाँले आत्मसुरक्षाका लागि गोली चलाउँदा गोपाल र अजयको मृत्यु भएको सदनलाई जानकारी गराउनुभयो ।
अपराधीलाई सुरक्षितरुपमा पक्राउ गर्न प्रहरी प्रयासरत रहका अवस्थामा प्रहरीमाथि नै आक्रमण भएकाले गोली चलाउनुपरेको गृहमन्त्री थापाले बताउनुभयो ।
बालकृष्ण खाँणले प्रहरीलाई इकाउण्टरको आदेश कसले दिन्छ भन्ने प्रश्न सोध्नुभएको थियो । सांसद खाँणको प्रश्नमा गृहमन्त्री थापाले परिस्थितिले नै त्यस्तो अवस्था सिर्जना गर्ने उल्लेख गर्नुभयो ।
सांसद डिला सङ्ग्रौलाले निर्मला पन्तको बलात्कार र हत्यारा सिंहदरबारमा लुकेको भन्दै अपराधी कहिले पक्राउ पर्छन् भन्दै गृहमन्त्री थापालाई प्रश्न गर्नुभएको थियो ।
उहाँको प्रश्नमा गृहमन्त्री थापाले पन्तको हत्यारा जहाँसुकै भए पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बालुवाटार सिंहदरबार जहाँसुकै भए पनि अपराधीले छुट नपाउने र कानूनी कारवाही गरेरै छाड्ने भन्नुभयो ।
कञ्चनपुरको १३ वर्षीया बालिका पन्तको बलात्कारपछिको हत्या पासविक र जघन्य घटना भएकाले सरकारले विशेष चासो दिएर छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन लागिपरेको जानकारी दिनुभयो ।
उहाँले उक्त घटनाको अनुसन्धान जारी रहेको र विगतमा सो घटनामा कमजोरी गर्ने प्रहरी अधिकारीलाई समेत कारवाहीको दायरामा ल्याइएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “कुनै पनि अपराधीलाई राज्यले छुट दिन सक्दैन । कानूनको कठघरामा ल्याउने नै छ । चासो र चिन्ता सदनले जाहेर गरेको छ, त्यसमा सरकार गम्भीर छ ।” गृहमन्त्री थापाले अपराधका ९६ प्रतिशत घटनामा सरकारले सफलता हासिल गरेको र बाँकी चार प्रतिशत घटनामा संलग्न हुने अपराधीलाई पत्ता लगाउन नेपाल प्रहरी क्रियाशील रहको जानकारी दिँदै कुनै पनि प्रकारको अपराध गर्नेलाई छुट नदिइने र कुनै पनि अपराधका घटनालाई मसिनोसँग छानबिन गरी कारवाहीको दायरामा ल्याइने बताउनुभयो ।
सांसद गगन थापाले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पाँच दिनभित्र सार्वजनिक गर्ने घोषणा केही समय अगाडि गर्नुभएको थियो, तर अपराधी किन पत्ता लागेनन्, यसबारे गृहमन्त्रीलाई जानकारी छ कि छैन ?’ भनेर प्रश्न गर्नु भएको थियो ।
थापाको प्रश्नको जवाफमा गृहमन्त्री थापाको यस्तो जवाफ,”रक्षामन्त्रीजीले के भन्नुभयो ठोस रुपमा जानकारी छैन । तर, छिट्टै अपराधीलाई कानुनको कठघरामा ल्याउने स्परिटसहित भन्नु भएको होला अनुमान गर्न सक्छु । सन्दिग्ध व्यक्ति अनुसन्धानको घेराभित्र आएको आधार बनाएर भन्नु भएको होला । निश्चित आधारमा हिरासतमा लिइएको थियो । कतिपयले साविती बयान पनि दिएका थिए तर, अरु प्रक्रिया पुरा नभएकाले मुक्त गर्न गरेका छौं ।”
सांसद दीलेन्द्रप्रसाद बडूले सरकारले शान्तिपूर्णरुपमा माग राख्ने माथि अनावश्यक बल प्रयोग गरेको भन्दै किन त्यस्तो गरिएको हो भन्ने प्रश्न गर्नुभयो । उहाँको प्रश्नमा गृहमन्त्री थापाले सरकार र गृह प्रशासनमा त्यस्तो जानकारी नआएको बताउनुभयो ।
निर्मला पन्त प्रकरण केही गैरसरकारी संस्थालाई कमाई खाने भाँडो र प्रमुख प्रतिपक्षी दललाई राजनीति गर्ने मेसो मिलेको भन्दै सरकारले शीघ्र अपराधी पत्ता लगाउने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै अछाम जिल्लाको मङ्गलसेनमा सात महीना अगाडि भएको १९ वर्षीय नमराज विष्टका अपराधी पत्ता लगाइ कारवाही कहिले हुन्छ भन्दै सांसद रामबहादुर विष्टले गृहमन्त्रीलाई प्रश्न गर्नुभयो ।
यस्तै सांसद घनश्याम खतिवडाले गत साउन २९ गते मोरङको लेटाङ नपा–९ स्थित श्रीमाविको खानेपानी ट्याङ्कीमा विषादी हालेको पानी सेवन गर्दा विद्यार्थी बिरामी भएको घटनामा अपराधी पत्ता लगाउने विषयमा के प्रगति भएको छ भन्ने प्रश्न गर्नुभएको थियो । गृहमन्त्री थापाले दुवै आपराधिक घटनाका विषयमा सरकार र गृह प्रशासनले मसिनो गरी छानबिन गरिरहेको जवाफ दिनुभयो ।


