एक महिना भित्रै जापानको ओसाका उडान भर्दै नेपाल वायुसेवा निगम
काठमाडौं । लामो दूरीका गन्तव्यमा उडान भरी व्यावसायिक फड्को मार्ने उद्देश्यसहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अघिल्लो वर्ष दुई नयाँ वाइडबडी विमान भित्र्यायो ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषको ऋणमार्फत करीब रु २४ अर्बमा खरीद गरिएका विमान गन्तव्य नपाएर थन्किरहेका बेला निगम व्यवस्थापन भने गन्तव्य सेवा विस्तारको धमाधम तयारीमा छ ।
त्यसो त, निगमभित्रको बेथिति, आर्थिक अराजकता, संस्थाभित्रको विकृतिलगायत विषय पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा ‘हेडलाइन’ बनिरहेका छन् । कहिले वाइडबडीको किस्ता तिर्न नसकेको, कहिले चिनियाँ विमान ‘ग्राउण्डेड’ (भूमिस्थ) भएको, विमानचालक पाइलटका विचित्रका गतिविधि तथा व्यवस्थापनमा रहेका पदाधिकारीबीच नै असामञ्जस्यता आदिले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको साखमाथि नै प्रश्नचिह्न खडा भएको छ तर चुनौतीका बीच सम्भावनाको खोजी गर्ने निगमलाई उपयुक्त अवसरमा पनि छ ।
आफ्नो व्यावसायिक योजनाका साथ स्रोत साधन र जनशक्तिको भरपुर उपयोग गरी सेवा विस्तारमा जुट्नु नै निगमको अपरिहार्यता हो । सञ्चारमाध्यममा आएजस्तै निगमले कामै नगरेको भन्ने पनि होइन । निगमले अन्तर्राष्ट्रियस्तरको ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवाबापत वाहवाही कमाइरहेकै छ । निगमसँग दक्ष पाइलट इञ्जिनीयर छन् । अनि विमान पनि थपिँदैछन् । अन्तर्राष्ट्रिय गन्तव्य विस्तारको रफ्तारमा अघि बढेको निगमले अबको ठीक एक महीनाभित्रै जापानको ओसाका उडान गर्दैछ ।
ओसाकापछि जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भर्ने योजना छ । जापानपछि सकेसम्म दशैँअघि नै चीनका विभिन्न गन्तव्य तथा साउदी अरेबियाको रियादमा उडान गर्ने योजना बनाएको छ । त्यस्तै दक्षिण कोरियाको सिओलमा पनि उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाएको छ ।
जहाँसम्म ओसाका उडानको प्रसङ्ग छ, जुन केही दिनयता निकै चर्चा परिचर्चाको विषय बनिरहेको छ । ‘उडान तालिका स¥यो’, ‘यात्रु नै पाएन’, ‘जापान प्रतिनिधि फेरिए’, ‘सर्वोच्चमा मुद्दा–पुरानैलाई यथावत् राख्न आदेश’जस्ता विषय सर्वत्र बजारमा फैलिए । तर निगमले हिम्मत हारेको छैन । अनेकन बाधा र अप्ठ्याराबीच सफलताको कडी खोज्दै निगम यतिखेर संस्थाको प्रतिष्ठालाई उँचो बनाउन लागिपरेको निगमले जनाएको छ ।
निगमका प्रवक्ता गणेशबहादुर चन्दले ओसाका निगमको प्रतिष्ठासँग जोडिएको विषय रहेको भन्दै निर्धारित तालिकामै काठमाडौँ–ओसाका उडान हुने राससलाई जानकारी दिनुभयो । “ओसाका उडान निर्धारित तालिकामै हुन्छ, यो निगमको प्रतिष्ठासँग जोडिएको विषय हो, बजारको हल्लाभन्दा पनि निगमले व्यापार गर्नैपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।
पूर्वनिर्धारित योजनाअनुरूप निगमले भदौ १२ गते ९२९ अगष्ट २०१९० देखि काठमाडौँ–ओसाका सिधा नियमित उडान गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गर्नेछ । जापानकै अर्को मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थमा उडान गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।


