राजश्व छुटको व्यवस्थासँगै म’हिलाका नाममा उद्योग दर्ता बढ्दो

हेटौँडा, १८ माघ । मकवानपुरमा महिलाको नाममा दर्ता भएका उद्योग तथा व्यावसायिक संस्थाको सङ्ख्यामा वृद्धि भएको छ । राज्यले महिलालाई आर्थिक हिसाबले बलियो बनाउनका लागि उद्योग तथा व्यवसायमा राजश्व छुटको व्यवस्था गरेकाले महिला उद्यमी तथा व्यवसायीको सङ्ख्यामा वृद्धि भएको हो । घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाको तथ्याङ्कको आधारमा चालु आर्थिक वर्षमा पुरुषको तुलनामा महिलाको नाममा दोब्बर उद्योग दर्ता भएका छन् ।

हेटौँडाको घरेलु तथा साना उद्योगमा निजी फर्म रजिष्ट्रेशन ऐन २०३४ ले तोकेका उद्योग तथा व्यापारिक फार्म दर्ता गर्दा यस आवदेखि सरकारले छुट दिएपछि महिलाको नाममा उद्योग तथा व्यापारिक फार्म दर्ता सङ्ख्या बढेको जनाइएको छ । चालु आवको पुस मसान्तसम्ममा महिलाको नाममा मात्रै ६०८ उद्योग तथा व्यावसायिक संस्था भएको जनाइएको छ । पुरुषको नाममा भने ३७६ उद्योग दर्ता भएका छन् ।

यस्तै यस वर्ष एक हजार २२६ पुरुषको नाममा व्यापारिक फर्म दर्ता भएको छ भने एक हजार ५४३ महिलाको नाममा फर्म दर्ता भएका छन् । राज्य तथा प्रदेश सरकारले महिलालाई अघि बढाउन र पुरुषको मात्र भर नपरी आफ्नै पहलमा केही काम गर्न योजना तथा सेवासुविधा दिइएको कुरा सम्झाउँदैमा समय बित्ने गरेको घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाका प्रमुख जगन्नाथ दाहालले जानकारी दिनुभयो ।

उहाँ थप्नुहुन्छ, “हामी वास्तविक रुपमा महिला उद्योगी व्यवसायी भएको हेर्न चाहन्छौँ, राज्यको पनि उद्देश्य त्यही हो तर दर्ता गर्न आउने महिला हेर्दा केहीलाई त उद्योगको बारेमा थाहासम्म हुँदैन दुःख लाग्छ ।” तर केही महिला भने सशक्तरुपमा उद्योग व्यवसायमा लागेको उहाँको भनाइ थियो । यद्यपि वास्तविक रुपमा भने केही महिला कागजमा मात्र नै उद्यमी र व्यवसायी भएको पाइएको उहाँको गुनासो छ ।

रु एक करोडसम्म पूँजीको फर्म दर्ता गराउँदा महिलालाई शतप्रतिशत छुट भएकै कारण घरेलु तथा साना उद्योगमा पुरुषभन्दा दोब्बर महिलाको स्वामित्वमा फर्म दर्ता भएको कार्यालय प्रमुख दाहालको भनाइ थियो । सरकारले रु एक करोडसम्म पूँजीको उद्योग तथा व्यापारिक फर्म दर्ता गर्दा २० हजार १०० राजश्व तोकेको छ । महिलाले यस्तो फर्म दर्ता गर्दा २०० राजश्व मात्र तिर्नुपर्ने व्यवस्था छ ।

यस्तै रु एक करोडभन्दा धेरै पूँजी लगानीमा लगानी हेरी दर्ता शुल्कको ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस वर्ष उद्योग तथा व्यापारिक फर्म दर्ताबापत रु ३८ लाख राजश्व सङ्कलन भएको घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।