देशको शिर झुक्ने काम सरकारले कहिल्यै गर्दैन – प्रवक्ता श्रेष्ठ
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले देशको शिर झुक्ने काम कहिल्यै नगर्ने बताएका छन् ।
गोरखा नगरपालिका–९ लक्ष्मी बजारमा आज आयोजित श्री महालक्ष्मी माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तालाई कमजोर बनाउने कुनै पनि काम सरकारले नगर्ने बताएका हुन् ।
“विश्वका विभिन्न ठूला–ठूला शक्तिशाली भनिएका देशहरु अरु देशको औपनिवेशिक हुँदा नेपालका हाम्रा पुर्खाहरुले हाम्रो देशलाई कहिल्यै अरुको औपनिवेशिक हुन दिएनन्”, उनले भने ।
“सधैँ सार्वभौम सम्पन्न, स्वाधीन राष्ट्रका रुपमा बचाइराख्नुभयो, अब हाम्रो पुस्ताले पनि त्यसलाई कमजोर हुन दिने छैन ।”, श्रेष्ठले थपे । पुर्खाले जोगाएको स्वाभिमानको रक्षा गर्न वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दृढ रहेको भन्दै उनले अहिले पनि नेपालको राष्ट्रियताको रक्षा गरेर सरकारअघि बढ्ने बताए ।


