जन्मघरमा प्रधानमन्त्री ओलीले ६९औं जन्म दिन मनाउने, यस्तो छ तयारी (भिडियाे सहित)
अमृत बास्तोला, तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्म दिन मनाउन जन्मस्थल तेह्रथुममा आउने हुनु भएको छ । फागुन ११ गते तेह्रथुमको आठराई ईवामा रहेको जन्मघरमा प्रधानमन्त्री ओलीले जन्म दिन मनाउन आउने कार्यक्रम तय भएको छ ।
जन्मउत्सव मनाउन प्रधानमन्त्री ओली आठराई आउने भएपछि कार्यक्रमको तयारी तिब्र पारिएको छ । आठराई–५, छातेढुङ्गाको सुकेपोखरी देखि प्रधानमन्त्रीको जन्मघर हुदै ताप्लेजुङको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम रहेको १ नं. प्रदेश सभा सदस्य तेजमान कन्दङले बताउनु भयो ।
प्रधानमन्त्रीको जन्मघर नजिकै हेलिप्याड निर्माण गरिएको छ । गाडी पार्किकङ लागि छुट्टै स्थाल बनाइएको छ । क्याट्रिङ र शौचालय धमाधम निर्माण भईरहको छ । प्रधानमन्त्री ओलीको जन्मघर सम्म पुग्ने कच्चीसडकको स्तरोन्नति भइरहेको छ । कार्यक्रमको आवश्यक व्यवस्थापन चाडै हुने आठराईका नेकपा संगठन इन्चार्ज भिम घिमिरेले बताउनु हुन्छ ।

प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्य, भौतिक योजना तथा निर्माण मन्त्री वसन्तकुमार नेम्वाङ सहित निकट व्यक्तिलाई लिएर जन्मदिन मनाउन जन्मस्थलमा आउने कार्यक्रम रहेको बताइएको छ । प्रधानमन्त्री ओली आफ्नो जन्मदिन मनाउन जन्मघरमै आउनुहुने भएपछि आठराई बासी हर्षित भएका छन् । आठराईको चुहानडाँडा विमानस्थल निर्माण लगायतका योजनाले आठराईको पर्यटन र आयआर्जनमा सहयोग पुग्ने कुरा जोडिएकाले चाडै विमान स्थाल निर्माण हुने अपेक्षा रहेको आठराई गाउँपालिका उपध्यक्ष रुपादेवि कन्दङवाले बताउनु भयो ।
प्रधानमन्त्रीले जन्मदिनको अवसरमा आठराईमा रहेका १ हजार ५ सय विद्यार्थीहरुलाई शैक्षिक सामग्री र ४ सय बृद्धबृद्धाहरुलाई न्यायो कपडा वितरण गर्ने कार्यक्रम रहेको छ । सोही दिन दन्दको समयमा विस्थापन भएको आठराई संक्रान्तिबजारमा रहेको नेपाल राष्ट्र बैंकको पुनः स्थपनाको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नुहुने कार्यक्रम रहेको छ । देशको प्रधानमन्त्री आठराईकै भएकाले यहाँको खानेपानी, स्वास्थ्य, शिक्षा र विकासका चरणहरुको सुरुवात हुने नेकपा आठराईका सचिव प्रेम पौडेल बताउनु हुन्छ ।
प्रधानमन्त्री ओलीको जन्मघरलाई संग्रहालय बनाइने अवधरणा अघि सारिएको छ । प्रधानमन्त्री ओली सोही दिन भौतिक योजना तथा निर्माण मन्त्री नेम्वाङको गृह जिल्ला पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकामा बृहत तमोर पम्पिंङ खानेपानी योजनाको उद्घाटन गरेर जन्मदिन मनाउन जन्मस्थल आठराई आउने कार्यक्रम रहेको छ ।
२०७२ सालदेखि वृहत तमोर पम्पिंङ खानेपानी आयोजना सुरु भएको थियो । आयोजनाले सुख्खाक्षेत्रका साविक यासोक रानीगाउँ र स्याबरुम्बा गाविसका ३ हजार ४४ घरधुरीका १३ हजार २ सय ६६ जना प्रत्यक्ष लाभाम्वित हुने भएका छन् ।


