ललिता निवासको जग्गा बकस लिने सबै कर्मचारीका आफन्त (सूची सहित)

काठमाडौं, फागुन १३ । बालुवाटारस्थित ललिता निवासको जग्गा राणा परिवारबाट बकस लिनेमा अधिकांश सरकारी कर्मचारीका आफन्त रहेको तथ्य फेला परेको छ । मालपोत कर्मचारीका श्रीमती, छोराछोरी र आफन्तले नै ललिता निवासको जग्गा बकसमा लिएको पाइएको हो ।

मालपोत कार्यालय डिल्लीबजार, समरजंग कम्पनी, गृह मन्त्रालयका कर्मचारीले सुर्वण शमशेरका हकवालाबाट आफ्ना नातागोताको नाममा बकस गरी लिएको पाइएको हो । ललिता निवासको ११२ रोपनी जग्गा राणा परिवारको नाममा ल्याउन कमिसन स्वरुप कर्मचारीका परिवारको नाममा बकस गरिएको देखिएको छ। यो जग्गा २०२१ सालमा नै अधिग्रहण गरी क्षतिपूर्ति समेत दिएर सरकारको नाममा ल्याइएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गराएको आरोप पत्रमा निर्वाचन आयोगका आयुक्त शाहकी श्रीमति उर्मिलासहित १३ कर्मचारीका परिवार र आफन्त छन्। उनीहरूले जग्गा फिर्ता गरेको ८ दिनभित्र बकस गरिदिएको अख्तियारले विशेष अदालतमा पेस गरेका आरोप पत्रमा उल्लेख छ।

गैह्रकानुनी फिर्ता भएको (२०४९ पुस २३) आठ दिनभित्र (२०४९ माघ २ मा) बकस पत्रको लिखत तयार भएको छ। २०५० जेठ २९ मा पारित भएको लिखतबाट आफू समेतको नाममा ललिता निवासको जग्गा प्राप्त गरेको देखिएको छ। सरकारी जग्गा व्यक्ति विशेषलाई फिर्ता दिने गरी गैह्रकानुनी निर्णय भएका आठ दिनभित्र यो प्रकरणमा संलग्नता र सरकार नभएका स्वतन्त्र व्यक्तिले जग्गाधनी भनिएका राणा परिवारलाई खुसी बनाइ, रिझाइ ६ रोपनी ९ आनासम्म जग्गा बकस पत्रमार्फत प्राप्त गरेको हो भनी विश्वास गर्न सक्ने स्पष्ट आधार र ठोस प्रमाण नदेखिएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ।

राणा परिवारबाट गैह्रकानुनी रूपमा निर्वाचन आयुक्त सुधीरकुमार शाहकी श्रीमती उर्मिला शाहले तीन कित्ता बकस लिएको पाइएको छ। उर्मिलाले एक लाख ५४ हजार ७ सय र ६ लाख ४ हजार ७ सय थैली कायम गरी कित्ता नम्बर ३६ को १ रोपनी ३ पैसा र कित्ता नम्बर ११ को ११ आना २ पैसा र १७ नम्बर कित्ताको ३ रोपनी ५ आना बकस लिएको देखिएको छ । बकस लिने बखतमा सुधीर शाह मालपोत कार्यालय भक्तपुरका मालपोत अधिकृत हुनुहुन्थ्यो ।

बकस लिनुभएकी उर्मिलाले २०४९ मंसिर १ मा शैलजा राण र भुवनकुमारी चापागाँइसहित आफू संयुक्तरूपमा खरिद गरी बकस लिएको बयानमा उल्लेख छ। यो जग्गा २०६० मा रामकुमार सुवेदीको परिवारलाई बिक्री गरिएको थियो । मैले जग्गा खरिद गर्दा मेरो श्रीमान सुधीर शाह भक्तपुर मालपोतका अधिकृत हुनुहुन्थ्यो, उक्त जग्गा लिखित पारित गरी खरिद गरेको हो, उर्मिलाको बयानमा भनिएको छ, ‘मलाई जग्गाधनीसँग भेटाउने व्यक्ति जग्गा दलाल रामनाथ शर्मा हुन्।’

तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं सहसचिव गेहनाथ भण्डारीकी श्रीमती भुवनकुमारी चापागाई र सासु सोदाकुमारी चापागाईका नाममा पनि जग्गा बकस गरिएको छ। भुवनकुमारीको नाममा ३ कित्ता र सोदाकुमारीको नाममा एक कित्ता बकस गरिएको आरोप पत्रमा उल्लेख छ। बालुवाटारको ३६ नम्बर कित्ताको १ रोपनी २ पैसा, ११ कित्ता नम्बरको ११ आना २ पैसा र १७ कित्ता नम्बरको ३ रोपनी ५ आना जग्गा दुईवटा थैली कायम गरी भुवनकुमारीको नाममा बकस गरिएको छ।

सोदाकुमारी चापागाईंको नाममा ९३ हजार ७५० थैली राखी १० आना जग्गा बकस गरिएको छ। बकस लिने बेला भण्डारी गृह मन्त्रालयमा शाखा अधिकृत हुनुहुन्थ्यो । मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत कलाधर देउजाका साढु भाइ इन्द्रबहादुर थापा क्षेत्रीले ४ रोपनी २ आना २ पैसा जग्गा बकस लिनुभएको छ । उहाँहरुको नाममा २०४९ मंसिर १ मा बकस गरिएको थियो।

उहाँले बयानमा साढु दाइ देउजाले मालपोत अधिकृत हुँदा बालुवाटारको जग्गा आफ्ना नाममा राखिदिन अनुरोध गरेपछि आफूले सहयोग मात्रै गरेको बयान दिनुभएको छ। आफ्नो नाममा लिएको एक दुई वर्ष पछाडि बिक्री गर्दा १० लाख प्राप्त गरेको पनि बयानमा उल्लेख छ । ‘राणा परिवारसँग मेरो चिनजान छैन, मेरो साढु दाइ देउजा बालुवाटारमा एउटा जग्गा छ, तपाईंले आफ्नो नाममा राखिदिनुहोस् भनी अनुरोध गर्नु भएकाले सहयोग गरेको हुँ’, उहाँले बयानमा भन्नुभएको छ, ‘उक्त जग्गा बिक्री गर्दा १० लाख पाएको थिए।’

डिल्लीबजार मालपोत अधिकृत सुरेन्द्रमान कपालीकी भतिजा बुहारी शान्ति मल्ल प्रधानाङ्गको नाममा जग्गा बकस गरिएको छ। २०४९ चैत २३ मा कित्ता नम्बर २७ को १ रोपनी १० आना २ पैसा, कित्ता नम्बर २८ को २ रोपनी ८ आना जग्गा फिर्ता दिलाउन संलग्न कपालीको भतिजा बुहारी प्रधानाङ्गको नाममा बकस गरिएको आरोप पत्रमा उल्लेख छ। डिल्लीबजारका खरिदार युक्तप्रसाद श्रेष्ठकी श्रीमती सरस्वती कुमारी श्रेष्ठ, बहिनी निर्मलादेवी श्रेष्ठको नाममा बकस गरिएको पाइएको छ। २०४९ चैत २३ मा कित्ता नम्बर २७ को १ रोपनी १० आना २ पैसा, कित्ता नम्बर २८ को २ रोपनी ८ आना जग्गा श्रेष्ठकी श्रीमती सरस्वतीको नाममा बकस गरिएको छ।

श्रेष्ठकै बहिनी निर्मला देवीको नाममा कित्ता नम्बर २० को ५ आना र कित्ता नम्बर २६ को १ रोपनी ८ आना जग्गा २ लाख ७१ हजार ९ सय थैलीमा बकस गरिएको थियो। शाखा अधिकृत धर्मप्रसाद गौतमका सालीको छोरा मोहनप्रसाद भट्टराई, तत्कालीन भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशक मुकुन्दप्रसाद आचार्यका छोरी ज्वाई वैकुण्ठ शर्मा रेग्मी, समरजंग कम्पनीका तत्कालीन लेखापाल विनोद पौडेलकी श्रीमती विद्या पौडेल गौतम, तत्कालीन भूमिसुधार विभागका शाखा अधिकृत प्रेमबहादुर खापुङकी श्रीमती सीमादेवी आङबुहाङ र भाइ बुहारी शशीकला सुब्बाले बकस लिएका थिए। त्यस्तै रामनाथ घिमिरे र रामकल्याण अधिकारीले बकस लिनुभएको थियो । घिमिरेले ३ रोपनी ४ आना र अधिकारीले १ रोपनी ८ आना जग्गा बकस गरी आफ्ना नाममा कायम गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖