कोरोना पुष्टि भएका तेस्रो व्यक्तिसँगै नेपाल आएका युवालाई क्वारेन्टाइनमा राखियो
रामहरि श्रेष्ठ, ओखलढुंगा, १४ चैत । विदेशबाट फर्किएका ओखलढुंगाका चार युवालाई क्वारेन्टाइनमा राखिएको छ । ति मध्ये एकजना नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका तेस्रो ब्यक्तिसँगै नेपाल आएका युवा समेत रहेका छन् ।
गत चैत ६ गते युनाइटेड अरब इमिरेट्स (यूएई)बाट एअर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ विमान मार्फत नेपाल आएका धादिङका एक युवालाई यसअघि कोभिड–१९ पोजिटिभ भएको पुष्टि भइसकेको छ ।
सोही बिमानमा उनीसँगै ओखलढुंगा आएका मोलुङ गाउँपालिकाका ती युवालाई गाउँपालिकाले शुक्रबार बिहानबाट क्वारेन्टाइनमा राखेको मोलुङ गाउँपालिका १ का वडावडाध्यक्ष प्रदीपकुमार बानियाँले जानकारी दिनुभयो ।
ती युवाको कागजपत्र हेर्दा उनी चढेको विमान र कोरोना संक्रमिण पुष्टि भएको धादिङका युवा चढेको विमानको नम्बर एउटै छ । उनी भिजिट भिसामा २ महिना अघि यूएई पुगेर गत चैत ६ गते मात्रै नेपाल फर्किएका हुन् ।
काठमाडौंबाट गत आइतबार मात्रै ओखलढुंगा आइपुगेका उनी त्यसयता परिवारसँगै बस्दै आएका थिए । उनलाई हाल गाउँपालिकास्थित रामपुरको शहीद आर्दश क्यापसमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बेदहरि दाहालका अनुसार अहिले ति युवाको अवस्था सामान्य छ ।
उनीसँगै सोही स्थानको क्वारेन्टाइनमा कतार तथा यूएइबाटै फर्किएका दुई युवालाई समेत राखिएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख दाहालले बताउनुभयो ।
उनका परिवारलाई समेत होम क्वारेन्टाइनमा राखिएको बताईएको छ । यसअघि विहीबार मात्रै कतारबाट फर्किएका एक युवालाई जिल्ला अस्पताल रुम्जाटारको क्वारेन्टाइनमा राखिएको छ ।
यसअघि नेपालमा फेला परेका दोस्रो संक्रमित युवतीसँग नेपाल आएका ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाका दुई युवालाई काठमाडांैमा क्वारेन्टाइनमा राखिएको छ।


