जाजरकोट : दैनिक भारी वर्षा, विपतबाट जोगिन छैन तयारी

हेमन्त केसी/ जाजरकोट । देश कोरोनाको त्रासबाट जोगिन र जोगाउन हम्मे–हम्मे परेको समयमा वर्षायाम शुरु भएको छ ।

कोरोनाबाट जोगिन तयारी व्यापक हुँदै गर्दा वर्षायाममा प्राकृतिक विपतिबाट जुध्ने तयारी गर्न स्थानीय सरकारले भ्याएको देखिँदैन । जाजरकोट, रुकुमपश्चिम र डोल्पामा प्राकृतिक विपतीबाट जोगिने आवश्यक तयारी नहुँदा विगत वर्षका समस्या बल्झिने देखिएको छ ।

विपत् व्यवस्थापनको मुख्य भूमिकामा रहेको जिल्ला प्रशासन कार्यालय समन्वयको अभावमा अलमलमा परेको छ ।

विपत् व्यवस्थापका लागि सामान्य छलफल भए पनि परिणाम आउने गरी काम नभएको यस क्षेत्रका सर्वसाधारण बताउँछन् । शुरुमा लकडाउनका कारण काम गर्न पाइएन, अहिले केही खुकुलो हुँदै गर्दा समय घर्कीसकेको भन्दै काम गर्न मुस्किल भएको स्थानीय तहका अधिकारीको भनाइ छ ।

वर्षाको भेलसँगै उर्लँदै आएका नदी, खोला नियन्त्रणका गर्नका लागि तार, जाली खरिद गरेर जोखिमपूर्ण ठाउँमा लगाउनुपर्ने भए पनि अहिले समयको अभावका कारण सबै कामले गती लिन सकेको छैन ।

सम्बन्धित कार्यालयसँग तारजाली माग्दा आर्थिक वर्ष सकिन केही हप्ता मात्र बाँकी रहँदा काम कसरी हुन्छ भनेर सामग्री उपलब्ध नगराउँदा हैरान भएको बारेकोट गाउँपालिका–४ मैनाका देव बोहोराले जानकारी दिए । उनले भने, “बारेकोट सामग्री लिन कठिन भएको छ । पहिले लक डाउन थियो, अहिले अलि खुकुलो हुँदा समय मात्र होइन, बाटो अवरुद्ध हुँदा समस्या भएको छ ।”

भेरी नदीको किनारका बस्तीहरु सबैभन्दा बढी समस्यामा परेका छन् ।

सरोकारवाला निकायबाट नदी नियन्त्रणका लागि आवश्यक सामग्री उपलब्ध नहुँदा भेरी किनाराका सर्वसाधारण त्रासमा बाँच्न बाध्य भएका हुन् । त्यस्तै छिन्चु जाजरकोट हुँदै डोल्पा जोड्ने सडकहरुको बीचमा रहेका खोलामा पानीको मात्रा बढ्दा यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ ।

बिहीबार जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावल योजना अनुगमन गरी फर्कदा रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको बाँके खोलामा पानीको मात्रा बढ्दा झण्डै ४ घण्टा रोकिनुपरेको थियो । लामो समयसम्म खोलामा पानीको मात्रा कम नभएपछि रावलले पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको गाडी सदरमुकामबाट बोलाएर आफ्नो गाडी बाँकेमै छोडेर सदरमुकाम फर्किएका थिए ।

त्यस्तै सदरमुकामबाट अन्य स्थानीय तहमा जानका लागि बीचबीचमा रहेका खोलाहरुमा पानी बढ्दा यात्रामा असहज भएको छ । नौँ वर्षदेखि शिवालय गाउँपालिका–१ मोर्कमा सवारी साधन सञ्चालन गर्ने पुल निर्माण नहुँदा पानी पर्न वित्तिकै छेडा–जुनिचाँदे सडक बन्द हुने गर्दछ । छिन्चु–जाजरकोट सडकखण्डको पासागाड, खोदाखोलालगायत चार ठाउँमा पुल समयमै निर्माण नहुँदा पानी बढेसँगै यातायातका साधन ठप्प हुने गरेका छन् ।

खोलामा नियन्त्रणको काम भएन

सातै वटा स्थानीय तहमा रहेका सानादेखि ठुला गाउँ, बस्तीकै छेउबाट बग्ने खोलाहरुमा रहेका बस्ती र खेतीयोग्य जमीन जोगाउने उपाय अवलम्बन गरिएको देखिएको छैन । नलगाड नदी, छेडाखोला, ताँसु गाड खोला, भेरी नदी, पासागाड खोला, सरु खोला र होलुखोलाहरुबाट पर्ने क्षतिका विषयमा अहिलेसम्म कुनै तयारी गरिएको छैन । यी त देखिने खालका खोलाहरु मात्र हुन् ।

अन्य दर्जनौँ साना खहरे खोला भए पनि त्यहाँ पनि नियन्त्रणका लागि पहल भएको छैन । अधिकांश कार्यालयले समय अपुग हुने भन्दै सोहीअनुसार काम गर्न लागेको बताएका छन् ।

विपत् प्रतिकार्य योजना

यत्ता जिल्ला प्रशासन कार्यालय जाजरकोटले मनसुन विपत् प्रतिकार्य योजना बनाउनका लागि तीन महिनाअघि स्थानीय सरकारलाई पत्राचार गरिसकेको बताएको छ ।

स्थानीय भौतिक पूर्वाधार कार्यक्रम सांसद विकास कोष को खर्च हुन नसकेको रकम कोभिड कोषमा जम्मा गर्ने निर्देशन अनुसार जम्मा भएको र सोही रकमबाट मनसुन विपत्को काम गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

आफूहरुले जाजरकोटमा पर्ने समस्यालाई हल गर्न विपत् व्यवस्थापन कार्यका लागि उद्धार सामग्री भण्डार कक्ष निर्माण गरेर परेको बेला तत्काल जान सक्ने तयारी थालेको प्रजिअ पन्तले बताए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।