नक्कली भाञ्जा बनाएर मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकसहित १२ पक्राउ

काठमाडौँ । कानूनमा मिर्गाैला प्रत्यारोपणका लागि आफ्नै नातेदार चाहिन्छ । अन्य व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेमा मानव बेचबिखनअन्तर्गत मुद्दा चल्छ । उक्त मुद्दा आकर्षित हुने गरी ललितपुरका एक व्यक्तिको मिर्गाैला प्रत्यारोपण गरेको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नक्कली भाञ्जा बनाएर ती व्यक्तिले नाता नपर्ने अर्कैको मिर्गौला प्रत्यारोपण गरेको पाइएको हो ।

उक्त घटनामा अस्पतालका चिकित्सक, ललितपुर र चितवनका प्रशासन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्रहरीको समेत संलग्नता रहेको देखिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

ललितपुरका ती बिरामीको चितवनस्थित कलेज अफ मेडिलक साइन्सेज शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज) मा विसं २०७६ साल जेठ २७ गते मिर्गाैला प्रत्यारोपण गरिएको थियो । सो घटनाका विषयमा त्यही साल असोज २ गते चिठीमार्फत आएको बेनामे उजुरीका आधारमा ब्युरोले अनुसन्धान थालेको थियो ।

शुरुमा उजुरी दिने व्यक्ति सम्पर्कमा नआउँदा उसलाई लुकाएर भारत पु¥याएको छ कि भन्ने कोणबाटसमेत प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानकै चरणमा उनी प्रहरीको सम्पर्कमा आए । त्यसपछि लगातार छ महिना लगाएर प्रहरीले अनुसन्धान गर्दा कैफियत भएको निष्कर्ष निकालेको एक प्रहरी अधिकृतले बताउनुभयो ।

केही हप्ताअघि किटानी जाहेरी नै परेपछि ब्युरोले अनुसन्धानको घेरा फराकिलो पारेको हो । प्रहरी स्रोतका अनुसार जाहेरवालाले आफूलाई प्रलोभनमा पारेर ललाइफकाइ गरी मिर्गौला झिकेको आरोप लगाएका छन् । शुरुमा आठ जनाविरुद्ध जाहेरी परे पनि सोधपुछका क्रममा अन्य व्यक्तिको समेत नाम खुलेपछि १२ जनाविरुद्ध अनुसन्धान थालिएको छ ।

“अनुसन्धानमा नक्कली कागजात बनाएर विदेशमा भएको व्यक्तिको कागजातमा कीर्ते गरी मिर्गौला प्रत्यारोपण गरेको पाइयो”, प्रहरी उपरीक्षक थपलियाले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानमा योजनाबद्धरुपमा काम गरेको पाइएको छ, अन्य अनुसन्धानपछि खुल्दै जान्छ ।”

प्रहरीका अनुसार उनका वास्तविक भाञ्जा भने हाल विदेशमा रहेको पत्ता लागेको छ । उनको नागरिकतालगायत कागजातमा भाञ्जा बनाएर ओखलढुङ्गाका २७ वर्षीय एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको छ । भाञ्जाको कागजातमा उनको फोटो टाँसेर कीर्ते गरिएको पाइएको पाइएको छ ।

ललितपुर महानगरपालिका वडा नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले नक्कली कागजातमा नाता प्रमाणित गरिदिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका कर्मचारीले नक्कली कागजातमा नागरिकता रुजु गरेका थिए ।

चितवनमा मिर्गौला प्रत्यारोपणको अनुमति दिने समितिमा सहभागी रहेको जिल्ला प्रशासन कार्यालयका एक अधिकृत, अस्पतालका कानूनी सल्लाहकार, अस्पतालका चिकित्सकलगायत समेत उक्त घटनामा मुछिएका छन् ।

यस्तै विचौलीयाका रुपमा काम गर्ने निलम्वित प्रहरी र बहालवाला प्रहरीसमेत घटनामा जोडिएका छन् । लामो अनुसन्धानपछि १२ जनालाई पक्राउ गरिएको हो । प्रहरी उपरीक्षक थपलियाले तलदेखि माथिसम्मै सेटिङमा काम गरेको देखिएको उल्लेख गर्दै घटनाको अझै सुक्ष्मरुपमा अनुसन्धान चलिरहेको बताउनुभयो ।

आर्थिक प्रलोभनमा परेर ती व्यक्तिले मिर्गौला दिएको पाइए पनि केकति लेनदेख थियो भन्ने कुरा भने अनुसन्धानका क्रममा रहेको ब्युरोले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रहरीका अनुसार लिनेदिने व्यक्तिलाई सम्पर्कमा ल्याउने, सेटिङ मिलाउने, सरकारी लिखत मिलाउने, त्यस लिखतलाई सही छ भनेर प्रमाणित गरिदिने र सबै ठीक छ भनेर शल्यक्रियामा सहभागी हुने व्यक्तिलाई अनुसन्धानको दायरामा राखेर कतिपयलाई पक्राउ गरिएको र कतिपय खोजीकै चरणमा रहेका छन् । ब्युरोको टोलीले शनिबार चितवनबाट चार जनालाई पक्राउ गरी ल्याएको हो भने अन्यलाई उपत्यकाबाट पक्राउ गरिएको हो ।

१२ जना पक्राउ

ब्युरोले उक्त घटनाको अनुसन्धानका लागि १२ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, गैँडाकोट घर भई कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका कानूनी सल्लाहकार रमेश काफ्ले, विराटनगर घर भई हाल सोही अस्पतालका प्रमुख सञ्चालक अधिकृत डा सुप्रभात श्रेष्ठ, गोरखा पालुङटार घर भई सोही अस्पतालमा कार्यरत डा बालकृष्ण कालाखेती, काठमाडौँ बानेश्वर बस्ने नोबेल अस्पतालका डा राकेशकुमार वर्षा, भक्तपुरका जमुनाराज भण्डारी रहेका छन् ।

यस्तै गुल्मी घर भई टोखामा अस्थायीरुपमा बस्दै आएका प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल, झापा घर भई काठमाडौँ टोखा बस्ने निलम्वित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलियालाई समेत विचौलिया गरेको आरोपमा पक्राउ परेका छन् ।

अन्य पक्राउपर्नेमा भोजपुर घर भई भक्तपुर जगाति बस्ने रेश्मा राई, ललितपुर– ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन खरिदार नवराज केसी र कार्यालय सहयोगी रामकुमार केसी रहेको ब्युरोले जनाएको छ । उनीहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गतको कसुरमा आज जिल्ला अदालत ललितपुरबाट छ दिनको म्याद थप गरी ब्युरोले अनुसन्धान थालेको छ ।

ऐनको परिच्छेद ४ को दण्डसजायअन्तर्गत उपदफा १ (ग) मा प्रचलित कानूनबमोजिम बाहेक मानिसको कुनै अङ्ग झिक्नेलाई १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।