एमालेलाई एकताबद्ध बनाउन साझा अवधारणा बनाइने

काठमाडौ । नेकपा ( एमाले )लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण गरेर अगाडि बढ्ने सहमति भएको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आजको छलफल निष्कर्षमा नपुगे पनि सकारात्मक भएको बताउनुभयो । उहाँले पार्टी एकताबद्ध बनाउन नेताबीच निरन्तर छलफल हुने जानकारी पनि दिनुभयो । “अबदेखि नेताहरु विभिन्न चरणमा बसेर छलफल गर्नुहुन्छ । आजको छलफलले साझा धारणा निर्माण गरेको छ”, उहाँले भन्नुभयो, “यसको जगमा एमालेलाई एकताबद्ध बनाउँदै नयाँ गतिका साथ अगाडि लैजाने आधार सिर्जना गरेको छ ।”

नेता ज्ञवालीले सर्वोच्च अदालतले एमाले ब्यूँताउने निर्णयलाई अवसरका रुपमा लिँदै पार्टीलाई सुदृढ बनाउँदै र देखिएका विवादलाई समाधान गर्दै जानुपर्नेमा बैठकमा जोड दिइएको बताउनुभयो । “बलियो एमालेले मात्र अरू वामपन्थीलाई पार्टी एकतामा जोड्दै सिङ्गो देशलाई एकताबद्ध र नेतृत्व दिन सक्छ भन्नेमा साझा निष्कर्ष निकालेका छौँ”, उहाँले भन्नुभयो । बैठकमा नेपाल पक्षले आफूविना बसेको गत फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयमा असहमति जनाएको छ ।

प्रवक्ता ज्ञवालीले नेपाललगायत नेताहरुले फागुन २८ गते आफूहरुको उपस्थिति नभएको बैठकले गरेका निर्णयलाई स्थगन गर्न भन्नुभएको जानकारी दिनुभयो । “हामीले ती निर्णयमा पुनरवलोकन, सुधार र समीक्षा गर्नुछ भने छलफलबाट गर्न सकिन्छ भनेका छौँ”, उहाँले भन्नुभयो, “फागुन २८ गतेको निर्णयलाई अर्को बैठकमा छलफल गर्न सकिने धारणा प्रधानमन्त्री ओलीले राख्नुभयो । बैठक बसिसकेको हुनाले फागुन २८ गतेको निर्णयलाई प्रतिष्ठाको विषय बनाएर जानु जरुरी छैन ।”

उहाँले अर्को पक्षको यही चैत ४ र ५ गते गर्ने भनिएको भेलाले पार्टी एकतालाई बल नपु¥याउने जनाउँदै केन्द्रीय कमिटी बैठक आपसी परामर्शबाट तय गरौँ भनेर आफूहरुले भनेको स्पष्ट पार्नुभयो ।

छलफलमा सहभागी नेता भीमबहादुर रावलले पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको छलफलपछि पत्रकारलाई जानकारी दिनुभयो । “फागुन २८ गते केन्द्रीय कमिटीले गरेका निर्णय औपचारिक नभएकाले हामीले मान्दैनौँ भन्यो तर उहाँहरुले त्यसलाई स्वीकार गर्नुभएन”, नेता रावलले भन्नुभयो, “कुरा नमिलेपछि पुन बैठक बस्ने भनिएको छ ।”

उहाँले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) लाई मान्यता नदिई एमाले र नेकपा ( माओवादी केन्द्र )लाई ब्युँताएपछि एमाले २०७५ साल जेठ ३ गतेभन्दा अगाडिकै स्थितिबाट पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँका अनुसार पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्नेमा छलफल भएको छ । “एमालेको कुनै पनि फुट स्वीकार गर्दैनौँ । पार्टीलाई एकताबद्ध बनाएर सशक्तरुपमा अगाडि बढाउनेमा हामी दृढ छौ”, नेता रावलले भन्नुभयो, “तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) एक भएन, भएन, फेरि पनि एमालेलाई विभाजन गर्ने कुनै पनि क्रियाकलापका विरुद्धमा हामी छै ।”

उहाँले पार्टीलाई एक बनाउनका लागि विधान, पद्धति र प्रणालीबाट पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको विवाद मिलाउन अहिले र यसअघि भएको निर्णय र गतिविधि स्थगन हुनुपर्ने माग पनि राख्नुभयो । “फागुन २८ गते भएको निर्णय रद्द गर्ने हो भने हामीले बोलाएको चैत ४ र ५ गतेको राष्ट्रिय भेला पनि स्थगन गरेर साझा धारणाका साथ हामी अगाडि बढ्न तयार छै, उहाँले भन्नुभयो ।

एमालेका अध्यक्ष ओलीले नेपाल पक्षको सहभागिताविना पदाधिकारी हेरफेर, प्रदेश कमिटीको कार्यविभाजन, माओवादी केन्द्रबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन र विधान संशोधन गरेपछि दुई समूहबीच तिक्तता पैदा भएको थियो । आजको छलफलमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता विष्णुप्रसाद पौडेल, ज्ञवाली, सुभास नेम्वाङ तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपालसहित नेता रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सहभागी हुनुभएको थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।