नमूना मसलाबाली गाउँ : बेसार निर्यात सुरु

महेन्द्रनगर: कृषि ज्ञान केन्द्र कञ्चनपुरले सञ्चालन गरेको नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत यहाँको दोधारा चाँदनी नगरपालिकाका किसान मसलाबालीमा सक्रिय भएर लागेका छन् ।

यहाँका नौवटै पालिकामा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत मसलाबाली, केरा खेती, उखु र तरकारी खेतीलाई प्राथमिकतामा राखेर अगाडि बढाइएको छ । दोधारा चाँदनीमा गत वर्षदेखि अनुदानसहित लागू भएको नमूना मसलाबाली कार्यक्रममा स्थानीय किसान आकर्षित भएका हुन् ।

गत वर्ष नमूना गाउँ कार्यक्रमअन्तर्गत दोधारा चाँदनीका मसलाखेतीमा आबद्ध किसानलाई बीउ, मसला उद्योग स्थापनाका लागि घर निर्माण र मेशिनरी सहयोगका लागि ५० लाख अनुदान दिइएको कृषि ज्ञान केन्द्रका प्राविधिक जनकबहादुर सिंहले जानकारी दिए ।

“अहिले त्यहाँका किसानले दुई हजार क्विन्टल बेसार र १५५ क्विन्टल अदुवा उत्पादन गरेका छन्”, प्राविधिक सिंहले भने, “उनीहरुको उत्पादनलाई बजारीकरण गर्न सहजीकरण गरेको छु ।” दोधारा चाँदनीमा उत्पादन भएको बेसार अहिले काभ्रेलगायतका अन्य जिल्लामा निर्यात भइरहेको सिंहको भनाइ छ । “विभिन्न व्यक्ति तथा निकायसित समन्वय गरेर पहिलो चरणमा २०० क्विन्टलभन्दा बढी बेसार निर्यात भएको छ”, उनले भने, “कार्यक्रमको कार्यविधिमा एउटा नमूना कृषि गाउँमा कम्तीमा १०० घरधुरी आबद्ध हुनुपर्ने प्रावधान छ ।”

दोधारा चाँदनीमा मसला उद्योग सञ्चालनका लागि चालु आर्थिक वर्षमा ५० लाख अनुदान रकमसमेत विनियोजन गरिएको छ । उनले उत्पादन र उत्पादकत्वलाई वृद्धि गरी निर्यात प्रर्वद्धन गर्ने उद्देश्यका साथ नमूना कृषि गाउँ स्थापना गरिएको बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार यहाँको बेलौरी, पुनर्वास नगरपालिका र बेल्डाँडी र लालझाडी गाउँपालिकामा नमूना उखु गाउँ, भीमदत्त नगरपालिकाका नमूना केरा खेती गाउँ, दोधारा चाँदनीमा नमूना मसला, वेदकोटमा केरा र तरकारी नमूना गाउँ, शुक्लाफाँटा नगरपालिकामा नमूना तरकारी गाउँ र कृष्णपुरमा नमूना बाख्रापालन सञ्चालनमा रहेका छन् । “सबै तहमा नमूना गाउँका लागि किसानलाई आबद्ध गराएर ५० लाखका दरले अनुदान विनियोजन गरिएको त छ”, सिंहले भने, “यो कार्यक्रम यहाँ निकै प्रभावकारीरूपमा अघि बढेको छ ।”

त्यसैगरी मुख्यमन्त्री नमूना गाउँ मसलाबाली समन्वय समिति दोधारा चाँदनीका अध्यक्ष टीकादेवी मगरले किसान मसलाबालीमा सक्रिय हुँदै गइरहेको बताए । उनले दोधारा चाँदनी–९ का करिब २०० किसानले ९० बिघा जमिनमा बेसार खेती गरिरहेको जानकारी दिए । “बस्तीमा मसला प्रशोधन उद्योग जडानको अन्तिम तयारीमा छ”, अध्यक्ष मगरले भने, “गत वर्ष लकडाउनका कारण मेशिन सञ्चालनको काममा ढिलाइ भयो ।”

ज्ञान केन्द्रसितको समन्वयमा बेसार निर्यात भइरहेको जानकारी दिँदै उनले भारतीय व्यापारी पनि गाउँमा बेसार खरिदका लागि आइरहेको बताए । कोरोना भाइरसको सङ्क्रमणका बेला बेसारपानीको प्रयोगबारे चर्चा पाएसँगै यसले बजार पाउनेमा किसान आशावादी रहेको अध्यक्ष मगरको भनाइ छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।