‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर आरोही अन्नपूर्ण आधार शिविर जान थाले

म्याग्दी। म्याग्दीको ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरु आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन्।

म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने हर्गोज पदमार्गको प्रयोग गरेर नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठको टोली आज आधार शिविरतर्फ लागेको हो। हिमाल आरोहणका लागि आधार शिविरतर्फ जान लागेको पत्रकारसमेत रहेकी श्रेष्ठको टोलीलाई अन्नपूर्ण गाउँपालिकाले शनिबार सम्मानसहित बिदाइ गरेको छ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडाध्यक्ष कृष्णप्रसाद बरुवाल, लेखा अधिकृत जय सुवेदीलगायतले बिदाइ गरेका थिए। यसअघि शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सो टोलीलाई बिदाइ गरेका थिए। कोरोनापछि र नारच्याङ हुँदै ‘मौरिज हर्गोज’ पदमार्ग भएर अन्नपूर्ण आरोहणका लागि जाने यो पहिलो टोली हो। सेभेन समिट ट्रेकमार्फत आरोहण गर्न लागेको यो टोलीमा अन्य १६ जना विदेशी आरोही छन्।

जोखिमयुक्त ‘मौरिज हर्गोज’ पदमार्गमार्फत गरिने अन्नपूर्ण आरोहणको प्रचारप्रसारका लागि एक वर्षअघि बनाएको योजना कोरोनाले रोकिएको र अहिले त्यसलाई सफल पार्न लागेको आरोही श्रेष्ठले बताए।

पेम्बा शेर्पा यो आरोहण समूहको शेर्पा रहेका छन्। कारोबार आर्थिक दैनिकमा कार्यरत गोरखा आरुघाटकी पूर्णिमाले यसअघि सन २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेका थिए। करिब एक महिना आधार शिविर क्षेत्रमा रहने टोलीले जनाएको छ।

फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका थिए। अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो । मौरिसले आरोहण गरेको ७० वर्षपछि नारच्याङ हुँदै आधार शिविर जोड्ने पदमार्ग पहिचान भएको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुनले आरोही टोलीलाई व्यक्तिगतरूपमा रु एक लाख र गाउँपालिकाबाट रु चार लाख बजेट उपलब्ध गराएको बताए। गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको गाउँपालिकाले मौरिज हर्गोज पदमार्ग नामकरण, नक्साङ्कन, पूर्वाधार निर्माण र प्रवद्र्धन शुरु गरेको अध्यक्ष पुनले बताए।

‘अन्नपूर्ण पहिलो’ आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको सङ्ख्या असाध्यै कम छ । जोखिमपूर्ण र कठिन भएकाले आरोहण गर्नेको सङ्ख्या कम भएको हो। नेपाली महिलाहरु त यसको चुचुरोमा पुगेकै छैनन् ।

गण्डकी प्रदेश सरकारले पूर्णिमाको आरोहण टोलीलाई रु आठ लाख आर्थिक सहयोग गरेको छ। सफलतासँगै पूर्णिमाको नाममा अन्नपूर्णको पहिलो महिला सफल आरोहीको कीर्तिमान रहनेछ । गण्डकीमा आठ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण, धौलागिरि र मनास्लु हिमाल छन्। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।