पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न

काठमाडौँ, ६ वैशाख । छ वर्षअघिको गोरखा भूकम्पले क्षतिग्रस्त ललितपुर महानगरपालिकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ ।

जापान सरकारको ऋण सहयोगमा पुनःनिर्मित विद्यालय भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राणा शासनकालमा निर्माण भएको विद्यालय भवन भत्किएर पुनःनिर्माण हुँदा दुई शताब्दीलाई जोड्ने काम भएको बताउनुभयो । विकास र समृद्धिको सपनालाई पूरा गर्न यस्ता शैक्षिक केन्द्रले सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सामुदायिक र संस्थागत दुवै शैक्षिक संस्थाको केन्द्रका रुपमा महानगरपालिका स्थापित भएको बताउनुभयो । आकर्षकरुपमा पुनःनिर्माण भएको विद्यालय भवनमा शैक्षिक गुणस्तर पनि त्यसैअनुरुप हुनुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा जाइकाका नेपाल प्रमुख आशाकुमा युनिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमान महर्जन र प्रधानाध्यापक ईश्वरमान बज्राचार्यले विद्यालयको गुणस्तर सुधार गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभएको थियो । विसं १९८१ मा स्थापना भएको विद्यालयको भवन दुई वर्षपछि १९८३ सालमा निर्माण भएको जानकारी सो अवसरमा गराइएको थियो । यो भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो ।

जापान सरकारको रु १६ करोड ऋण सहयोगमा पुनःनिर्माण भएको विद्यालयमा २७ कक्षाकोठा छन् । विद्यालयमा प्रयोगशाला, पुस्तकालय, कम्प्युटर कक्ष, अध्यापक एवं प्रधानाध्यापक कक्ष, प्रशासन कार्यालय, महिला र पुरुषका लागि अलगअलग शौचालय जस्ता संरचनासमेत निर्माण भएको छ । अशक्त र कर्मचारीका लागि विद्यालयमा छुट्टै कक्षको समेत व्यवस्था गरिएको छ ।

विद्यालयमा हाल ४२४ छात्र र ४०९ छात्रा गरी कूल ८३३ विद्यार्थी अध्ययनरत छन् । घडी राख्ने टावर, फर्निचर, विद्युत्, पानी वितरण, सोलार ब्याक अप, खेल मैदान, पैदलमार्ग, पर्खाल, मूलढोका, पम्प सेट र सुरक्षाकर्मी कक्षसमेत निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक बज्राचार्यले सुनाउनुभयो ।

जाइकाको आकस्मिक विद्यालय पुनःनिर्माण आयोजनाअन्तर्गत भूकम्प अतिप्रभावित छ जिल्लामा विद्यालय पुनःनिर्माण भइरहेको छ । योजनाअन्तर्गत २७४ विद्यालय पुनःनिर्माण हुनुपर्नेमा हालसम्म २१८ विद्यालय पुनःनिर्माण सम्पन्न भएको सो अवसरमा जानकारी गराइएको थियो ।

उक्त योजनाअन्तर्गत भूकम्प अतिप्रभावित ललितपुर, गोरखा, नुवाकोट, धादिङ, रसुवा र मकवानपुरमा विद्यालय पुनःनिर्माण भइरहेको जनाइएको छ । छ जिल्लामा ५३ प्याकेजमा काम भइरहेको बताइएको छ । यसका लागि जापान सरकारले रु एक अर्ब ५२ करोड ऋण सहयोग गरेको जनाइएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।