मुहान सुकेपछि खोलाको दूषित पानी पिउन बाध्य

म्याग्दी, ११ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य भएका छन् । तेइस वर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाइ आयोजनाको मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको हो । उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले खोलाकाई भन्ने ठाउँमा रहेको मुहान सुकेपछि पानी आपूर्ति हुन नसकेको बताउनुभयो ।

“एक सय ४३ घरधुरीका करिब आठ नौ सय र मण्डली आधारभूत विद्यालयका विद्यार्थी खानेपानी अभावमा प्रभावित भएका छन्”, उहाँले भन्नुभयो, “मुहान सुकेपछि खोलाको पानी ल्याएर बाँडेका छौँ । फोहोर पानीले रुघाखोकी लागेर बिरामी पर्न थालेका छन् ।” विसं २०५४ मा निर्माण भएको आयोजनाका १३ वटा सार्वजनिक धारामार्फत औलाका विभिन्न टोलमा खानेपानी वितरण गरिएको थियो । पछिल्लो समय प्रायजसोले सार्वजनिक धारामा निजी पाइप जोडेर घरमै पानी लगेका थिए ।

पहाडको फेदी र संसारेखोलाको किनारमा रहेको मुहान पूर्णरुपमा सुकेको चार महिना भयो । मुहान सुकेपछि रिजर्भ ट्याङ्कीमा संसारेखोलाको पानी हालिएको छ । खोलाको पानी दूषित भएको, गाईबस्तुले बिगारिदिने, दैनिक मर्मत गरिरहनुपर्ने समस्या रहेको औलाका बासिन्दा सन्देश रन्तिजा पुनले बताउनुभयो । “खोलाको पानी दूषित छ”, उहाँले भन्नुभयो, “गाईभँैसीले पाइप बिगारीदिने भएकाले दैनिकजसो बनाउनुपर्छ । नियमित पानी लैजान सकेका छैनौँ । साह्रै गाह्रो भएको छ ।” पिउन, शौचालयमा प्रयोग, सरसफाइ गर्न र गाईबस्तुलाई खुवाउन समस्या भएको छ ।

मण्डली आधारभूत विद्यालयका विद्यार्थी पनि खानेपानी पिउन धारामा लाइन बस्ने गरेका छन् । विद्यालय परिसरमा रहेको मुहान पनि खडेरीले सुकेर पानी सानो आउँछ । धारामा पानी नआउँदा औलावासी घण्टाँै पालो कुरेर त्यही मुहानको पानी भर्छन् । बुहउद्देश्यीय सभाहल निर्माण योजनासमेत पानीको समस्याले प्रभावित भएको छ । मसला बनाउन र पर्खालमा क्युरिङ गर्ने पानीको समस्या भएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् ।

खोलाको मुहानभन्दा केही माथि संसारेखोलामा मोटरेबल पुल निर्माण भइरहेको छ । पुल निर्माणका क्रममा खोलामा डोजर प्रयोग गरिएकाले पानी धमिलो हुन्छ । लामो खडेरीले भूकम्पले खल्बलाएको मुहानमा असर परेर सुकेको हुनसक्ने स्थानीयवासीको अनुमान छ । अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष गमबहादुर फगामीले तत्काल सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गराउने तथा दीर्घकालीन हिसाबले निजी धारासहितको आयोजना निर्माण गर्न पहल गरेको बताउनुभयो ।

“अन्तिम अवस्थामा रहेको यो आर्थिक वर्षमा बाँडफाँट भइसकेकाले बजेटको अभाव भयो”, उहाँले भन्नुभयो, “आउने वर्षमा गाउँपालिका, प्रदेश र सङ्घ सरकारमार्फत बजेट विनियोजन गरेर नयाँ आयोजना निर्माणका लागि पहल गरेको छु ।”

रिमामा यो वर्ष प्रदेश सरकारले ‘एक घर एक धारा’सहितको खानेपानी आयोजना निर्माण गरिरहेको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।