रेडियो मेलम्ची डुबानमा
काठमाडौँ, केही दिनदेखि आएको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ । मङ्गलबार अपराह्नदेखि बढेको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियोको तीनतले भवनको दुई तलासम्म डुबाएको छ ।
रेडियोका सम्पूर्ण सामग्री क्षतिग्रस्त भएको र करीब रु ५० लाख हाराहारी क्षति भएको छ । रेडियोको सम्पूर्ण कागजात, उपकरण, ल्यापटपलगायत सामग्री बाढीले बगाएको रेडियोका अध्यक्ष डम्बररसिक भारतीले बताउनुभयो ।
दोस्रो तलासम्म लेदोले पुरिएको र तेस्रो तलाको अलिकति भाग मात्र देखिएको छ । बाढीले मेलम्ची बजार डुबानमा परेपछि स्थानीयवासी सुरक्षित आश्रय स्थलको खोजीमा छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री तथा अन्य संघसंस्था राहत एवं सहयोगका लागि सिन्धुपाल्चोक जाने क्रम जारी छ।
यो पनि पढ्नुहोस
वालिङ,अविरल वर्षासँगै कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीका आठ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान साढे ८ः०० बजेको समयमा कालीगण्डकी नदीमा आएको बाढी पस्न गई आठ घर डुबानमा परेका हुन् ।
मानिसलाई समयमै सुरक्षित स्थानमा सारिएकाले घर डुबानमा परे पनि मानवीय तथा चौपायाको क्षति हुन पाएको छैन । बाढीका कारण आठ घर पूर्णरुपमा क्षति भएका छन् भने स्थानीय बासिन्दा, प्रहरी, स्थानीय जनप्रतिनिधि, रेडक्रसको सहकार्यमा उद्धार कार्य जारी राखिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको सेतीवेणी बजार कालीगण्डकी र सेतीखोलाको किनारमा अवस्थित छ । कालीगण्डकीमा पानीको बहाव बढ्नासाथै सेतीखोलामा पानीको सतह बढ्ने भएकाले यो ठाउँ वर्षेनि डुबानमा पर्ने गरेको छ । स्याङ्जातर्फको गल्याङ–५ सेतीवेणी बजार डुबानमा पर्दा आठ घरमा पूर्णरुपमा क्षति पुगेको छभने २४ जना विस्थापित भएका छन् ।


