जडीबुटीका बिरुवा निःशुल्क उपलब्ध, जडीबुटी खेती कार्यक्रम शुरु

देउखुरी,डिभिजन वन कार्यालय दाङले जडीबुटीका बिरुवा निःशुल्क उपलब्ध गराएको छ । बिरुवा हुर्काउने किसानलाई प्रोत्साहनस्वरुप प्रतिबिरुवा रु तीन नगद अनुदान उपलब्ध गराउने कार्यक्रमसमेत ल्याइएको छ ।

सुगन्धकोकिला (मालगेडी), टिमुर, दालचिनी, कुरिलो, अमला, सर्पगन्धालगायत जडीबुटीको व्यावसायिक खेतीको प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले यहाँ जडीबुटी खेती गर्न चाहने किसानलाई प्रोत्साहन गर्नका लागि यस वर्ष सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा किसानलाई राहत र प्रोत्साहन हुने गरी कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सहकारीमार्फत जडीबुटी विस्तार कार्यक्रमबाट यस वर्ष करीब ७५ हजार जडीबुटीका बिरुवा रोप्ने गरी कार्यक्रम अघि बढाइएको डिभिजन वन कार्यालययका प्रमुख विजयराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार जडीबुटीको पकेट क्षेत्र मानिएको दाङको पहाडी भेगमा पर्ने बङ्गलाचुली गाउँपालिकाका पाँच वडा र घोराही उपमहानगरपालिकाका दुई गरी जम्मा सात वडामा जडीबुटी खेती विस्तार कार्यक्रम शुरु गरिएको छ । सो कार्यक्रमअन्तर्गत किसानलाई टिमुर, तेजपात र मालागेडी जातका बिरुवा निःशुल्क उपलब्ध गराइने भएको छ ।

खेर गइरहेको वा कम उत्पादनशील निजी जग्गामा जडीबुटी खेती गरी किसानलाई व्यावसायिक र उद्यमी बनाउने तथा यही अभियानमार्फत गाउँगाउँमा समृद्धिको मार्ग प्रशस्त गर्ने कार्यक्रमको उद्देश्य रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत एवं सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । यसका लागि किसानले कम्तीमा दुई कट्ठा क्षेत्रफलमा बिरुवा रोपण गर्नुपर्ने व्यवस्था अघि सारिएको छ ।

सो व्यवस्थाअुनसार दुई कट्ठा जमीनमा पाँच÷पाँच मिटरको दूरीका हिसाबले पूरै जग्गामा जडीबुटीका बिरुवा लगाउँदा करीब २५ बोट लगाउनुपर्ने व्यवस्था गरिएको छ । यसरी लगाइएका जडीबुटीका बिरुवा हुर्काउने किसानलाई अनुगमनपछि प्रतिजीवित बिरुवा रु तीनका दरले स्यहारसम्भार प्रोत्साहन प्रदान गरिने सहायक वन अधिकृत केसीले जानकारी दिनुभयो ।

किसानलाई दिइने बिरुवाको अधिकांश हिस्सा डिभिजन वन कार्यालयले आफँैले उत्पादन गरेका बहुवर्षीय (ठूलो आकार पुगेका) टिमुर, दालचिनी र मालागेडी हुने तथा नपुग बिरुवा खरीद गरेरसमेत दिन सकिने सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयको सहयोगमा जडीबुटी खेतीका विस्तार कार्यक्रमका लागि लक्षित वडामा स्थानीय सहजकर्ता परिचालन गरी जडीबुटीका बिरुवा रोप्न चाहने किसानको लगत सङ्कलन गर्ने काम भइरहेको छ । प्रत्येक वडामा एकजनाका दरले सात सहजकर्ता र सहकर्तालाई परिचालन गर्ने एक सुपरभाइजर परिचालन गरी अहिले किसानले लगाउन खोजेको जडीबुटीका बिरुवा, जडीबुटीको जात र परिमाण, जडीबुटी लगाउने जग्गाको क्षेत्रफल, बिरुवा ढुवानी तथा वितरणका लागि सुरक्षित स्थानमा व्यवस्थापन र वितरणका लागि आवश्यक रणनीति बनाउने काम गाउँ तहमा भइरहेको छ ।

बिरुवा वितरण तथा वृक्षरोपण सहजकर्तालाई जडीबुटी खेती विस्तारसम्बन्धी ज्ञान तथा सीप विकास सहजकर्तालाई अभिमुखीकरण गरी काममा लगाइएको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धु्रव पौडेलले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा दाङ पनि जडीबुटीका लागि प्रसिद्ध जिल्ला भएको भन्दै जडीबुटी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ । कार्यालयले गत वर्ष टिमुर वर्ष कार्यक्रम घोषणा गरी एक लाखभन्दा बढी बिरुवा लगाएको थियो । गत वर्ष लगाइएका अधिकांश बिरुवा हुर्किएको कार्यालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।