सत्ता फेरिएपछि सक्रिय बने विप्लव, शीर्ष नेतासँग लगातार भेटघाट
काठमाडौं । सत्ता परिवर्तन सँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सक्रिय देखिएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत शान्तिपूर्ण राजनीतिमा आएका विप्लव शान्त नै थिए ।
तर, सत्ता परिवर्तन हुनेबित्तिकै उनको राजनीतिक सक्रियता बढ्न थालेको छ । सरकार परिवर्तन भएको भोलिपल्टै महासचिव विप्लवले पुराना सहयात्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न खुमलटार नै पुगेका थिए ।
बुधबार उनले प्रचण्डसँगको भेटमा आफ्ना बन्दी कार्यकर्ताहरुलाई रिहाइ गर्नुका साथै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् ।
यस्तै, आज उनै विप्लव नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वरमै पुगेका छन् । बिहीबार विहानै विप्लव नेपाल निवासमा पुगेका थिए ।
विप्लव र नेपालबीच भेट हुँदे गर्दा प्रचण्ड पनि त्यहाँ आइपुगे । तीन नेताबीच पछिल्लो राजनीतिक परिवर्तन, आगामी कार्यदिशा र पार्टी एकताका विषयमा छलफल भएको बताइएको छ ।
राजनीतिक अवस्थाबारे चर्चा भनिए पनि उनीहरुबीच के–कस्तो विषयमा छलफल भयो भन्ने जानकारी गराइएको छैन । उनले अहिले शत्तापक्षसँग आफ्ना कार्यकर्ताहरुको रिहाइको माग गरेका छन् ।
यस्तै, बुधबार प्रचण्डसँगको भेटमा पुराना सहयात्रीहरु एक ठाउँमा उभिनुपर्ने धारणा राखेको बताइएको छ । अर्थात् उनले माओवादी एकताको विषयमा कुराकानी गरेका थिए ।
तत्कालीन केपी ओली सरकारसँग तीन बुँदे सम्झौता गरेका विप्लवले उक्त सहमति कार्यान्वयन नभएको गुनासो गर्दै आएका छन् ।
बदलिएको परिस्थितिमा एकाएक राजनीतिक भेटभाटमा सक्रिए भएका विप्लवले उक्त सहमति कार्यान्वयनको पनि कुरा उठाएका छन् ।


