अन्ततः एमाले दुई टुक्रा, माधव नेपालले दर्ता गराए एमाले (समाजवादी)
काठमाडौं – अन्ततः नेकपा (एमाले) फुटेको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आज आफ्नै नेतृत्वमा एमाले (समाजवादी) नामको नयाँ दल दर्ता गरेकेपछि एमाले दुई टुक्रा भएको हो ।
नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब राखिएको छ ।
नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताए ।
नेकपा एमाले अब औपचारिक रुपमै दुई टुक्रा भएको सांसद चौधरीकाे भनाइ छ । उनले आफूहरूले निर्वाचन आयोगमा दल दर्ता गराइसकेको जानकारी दिए ।
‘हामीले निर्वाचन आयोगमा दल दर्ता गराएका छौँ । नेकपा एमाले(समाजवादी) नाम र खुला किताव चुनाव चिन्ह सहित हामीले दल दर्ता गराएका हौँ,’ उनले भने, ‘बाँकी कुरा आयोगको हातमा छ । एमाले औपचारिक रुपमा फुटेको छ ।’
नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् । -नेपाल वाच


