प्रदेशको नामै नराखी मुख्यमन्त्रीबाट बिदा भए शेरधन राई,आचार्य नयॉं मुख्यमन्त्री
विराटनगर । भोजपुरबाट निर्वाचित शेरधन राई करिब चार वर्ष प्रदेश १ को मुख्यमन्त्री भएर बिहीबारदेखि बिदा भएका छन्। यो चार वर्षको अवधिमा उनले प्रदेश १ को राजधानी विराटनगरमै कायम गरिदिए।
राज्यका हरेक सेवा सुविधा केन्द्रित भइसकेको सहरमै राजधानी कायम गरेपछि आलोचना खेपेका उनैले प्रदेश १ को नाम भने जुराउन सकेनन्।
मुख्यमन्त्रीबाट बिदा हुँदै गर्दा उनले आफ्नै प्रस्तावमा एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत रुपमा भीम आचार्यलाई चयन गराउन सफल भए। र, सँगै प्रदेश १ को नाम जुराउने जिम्मा पनि अब आचार्यकै काँधमा सुम्पिएका छन्।
आचार्य दलको नेता भएसँगै राईले प्रदेश प्रमुख सोमनाथ प्यासीकहाँ पुगेर पदबाट राजीनामा बुझाएका छन्। उनले राजीनामा दिएसँगै प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीका रुपमा आचार्यले शपथ लिँदैछन्।
झन्डै चार वर्ष मुख्यमन्त्रीको कुर्सीमा बसेका राई प्रदेशको नामाकरण गर्न असफल रहे। सातमध्ये पाँचवटा प्रदेशले प्रदेशको नामाकरण गरिसकेका छन्। प्रदेश १ र २ ले आफ्नो नाम नै राख्न सकेका छैनन्।
प्रदेश १ को नाम कोशी या सगरमाथा राख्नुपर्ने मत एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेका छन्। उता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने किरात या अन्य कुनै नाम राख्न सुझाएका थिए।
तर राई आफैं भने प्रदेशको नाम कोशी-किरात या सगरमाथा-किरात राख्ने पक्षमा थिए।
एमालेले नेतृत्वकै सरकार रहेको बागमतीमा डोरमणि पौडेलले, गण्डकीमा पृथ्वी सुब्बा गुरुङले र लुम्बिनीमा शंकर पोखरेलले प्रदेशको नाम राख्न सफल भएका थिए।
एमालेका चार मुख्यमन्त्रीमा शेरधन मात्रै प्रदेशको नामाकरण गर्न चुके। प्रदेश १ को नाम सगरमाथा, कोसी, किरात, लिम्बुवानमध्ये एक राख्ने विषयमा अझै पनि मत मिलिसकेको छैन।


