शुक्रबारदेखि ५६ जिल्लामा वडा अधिवेशन प्रारम्भ

– भीष्मराज ओझा ,काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा यही भदौ १८ गतेदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ ।

उहाँले भन्नुभयो, “क्रियाशील सदस्यता सूची भएका वडामा सम्भव भएसम्म सबैमा भोलि नै अधिवेशन हुन्छ, केही वडामा नाम छुटेका र मिलाउनुपर्ने भएको अवस्था समितिको रोहवर एक÷दुई दिन पछाडि सार्न सकिन्छ । शुक्रबार कति वडामा अधिवेशन सम्पन्न हुन्छ भन्नेमा चाहिँ अहिले नै यकिन गर्न सकिँदैन ।”

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

मुलुकभरका सबै छ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने संयोजक यादवले जानकारी दिनुभयो । यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता नामावली क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ÷नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने जानकारी दिनुभयो । कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले वडा अधिवेशन आवश्यक प्रक्रिया तथा अन्य सूचनाबारेमा सुसूचित गर्न दृश्य सामग्री प्रसारण गरेको छ ।

कांग्रेसको विधानमा टोल, वडा, गाउँपालिका÷नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी आठ तहगत पार्टी संरचनाका व्यवस्था गरिएको छ ।

कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

साढे पाँच वर्षपछि हुन लागेको कांग्रेसको आसन्न महाधिवेशनलाई पार्टीका नेताकार्यकताले उत्सवका रूपमा लिएका छन् र अधिवेशनका लागि यतिखेर नेताकार्यकर्ताहरु गाउँगाउँमा पुगेर प्रचार अभियानको अन्तिम चरणमा छन् ।

मुलुक सङ्घीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । यसअघि कांग्रेसको १३औँ महाधिवशेन २०७२ साल फागुनमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनमा नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच मुख्य प्रतिस्पर्धा भई देउवा सभापतिमा निर्वाचित हुनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।