पाँचथरमा देखिएन एमाले विभाजनको असर, अधिकांश जनप्रतिनिधि मुलघरमै
पाँचथर । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रदेश १ का प्रदेशसभा सदस्य गणेशकुमार काम्बाङ माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा खुलेसँगै एमालेका नेताहरुबीच दलबदल प्रक्रिया सुरु भएको छ ।
काम्बाङ नेकपा (एस)मा खुलेपनि जिल्लाका अन्य नेताहरु तथा जनप्रतिनिधिहरु खुलिसकेका छैनन् । गत जिल्ला अधिवेशनबाट निर्वाचित एमालेका चार जना पदाधिकारीहरु मध्ये अध्यक्ष राजकुमार भण्डारी र उपाध्यक्ष भुवानीप्रसाद लिङदेन विगतबाटै अध्यक्ष केपी शर्मा ओलीका पक्षमा छन् ।
१० बुँदे सहमति कार्यान्वयन भएसँगै उपसचिव धनकुमार फियाक पनि एमालेमै रहने भएका छन् । एमालेका तत्कालीन सचिव तिवेन्द्रराज चापागाईंसहित विगतमा नेता नेपालको पक्षमा रहेका नेताहरु कमलप्रसाद जबेगू, प्रेमप्रसाद रिजाल लगायतले कुन दलमा रहने भनेर सार्वजनिक गरिसकेका छैनन् ।
जिल्लामा एमालेबाट निर्वाचित अधिकांश जनप्रतिनिधिहरु भने एमालेमै रहने देखिएको छ । एमालेबाट प्रतिनिधिसभामा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, प्रदेशसभामा काम्बाङ र आशा रत्न जबेगू निर्वाचित थिए । काम्बाङ बाहेक नेम्वाङ र जबेगू विगतबाटै एमालेको संस्थापन पक्षमा छन् ।
जिल्ला समन्वय समितिमा प्रमुख सहित ६ जना सदस्य एमालेले जितेको थियो । समितिका प्रमुख विष्णुप्रसाद सापकोटा (विमल) समेत विगतबाटै एमालेको संस्थापन पक्षमा छन् । जिल्लाका आठ स्थानीय तहमध्ये एमालेले चार गाउँपालिकामा अध्यक्ष र पाँच गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।
जसमध्ये हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेन र कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ एमाले संस्थापन पक्षमा छन् । नेता नेपाल निकट मानिएका याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे तथा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले एमाले एकताका पक्षमा जोड दिँदै आएका थिए ।
१० बुँदे सहमति कार्यान्वयनपछि उनीहरु एमालेमै खुलेका छन् । याङवरककी उपाध्यक्ष कमलकुमारी योङहाङ (कमला), कुम्मायककी उपाध्यक्ष सीता आचार्य, मिक्लाजुङकी उपाध्यक्ष उर्मिला राई र तुम्बेवाका उपाध्यक्ष धनप्रसाद साँवा एमाले संस्थापन पक्षमा छन् ।
हिलिहाङकी उपाध्यक्ष सुमित्रा उप्रेती (सेढाईं)ले भने कुन दलमा रहने निक्र्यौल गरेकी छैनन् । उप्रेती नेपाल पक्षकी हुन् । एमालेबाट निर्वाचित वडाध्यक्ष सहितका केही जनप्रतिनिधिहरुले नेकपा (एस)मा सनाखत गर्न सक्ने भएपनि हालसम्म कसैले पनि सनाखत गरिसकेका छैनन् ।
पाँचथरबाट तात्कालीन एमालेमा एक जना मात्रै केन्द्रीय कमिटी सदस्य थिए । एमालेको गत महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फे उपचारका क्रममा भारतमा छन् । उनी एमाले संस्थापन पक्षका नेता हुन् ।
नेकपा (माले)बाट तत्कालीन बाम गठबन्धनमा सामेल भई तत्कालीन नेकपाको केन्द्रीय सदस्य रहेका संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ पनि एमालेमै रहेका छन् भने माओवादीबाट संविधानसभाको सदस्य भइ स्थानीय विकास राज्यमन्त्री बनेका श्रीप्रसाद जबेगू पनि एमालेमै छन् ।


