कांग्रेस महाधिवेशनःवडादेखि नै युवा नेतृत्व स्थापित

–पूर्णप्रसाद मिश्र,काठमाडौँ, २० भदौ ।राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ ।

युवाको सक्रियता बुढापाकालाई नेता बनाउनेमा मात्र सीमित छैन । कति युवा आफैँ नेतृत्वमा स्थापित हुन थालेका छन् । ९० वर्षसम्मका क्रियाशील सदस्य हुने पार्टीका नेता कार्यकर्तामा १९ वर्षीय युवतीले वडा सभापति जीत हात पारेपछि सामाजिक सञ्जालमा बधाई दिनेको सङ्ख्या बढेको छ । सञ्जालमा धेरैले ‘अब देशमा केही हुन्छ’ भनी सकारात्मक सन्देश प्रवाह गरेका छन् ।

दैलेख जिल्ला दुल्लु नगरपालिका–३ को सभापतिमा १९ वर्षीय स्वस्तिका महत निर्वाचित भएपछि पार्टीका नेता कार्यकर्ता मात्र नभइ अन्य दल एवं क्षेत्रबाट पनि बधाई सन्देशको ओइरो लागेको हो । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख कांग्रेस काठमाडौँ क्षेत्र नं ३ की सचिव शान्ति नेपालले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘देशभरिका युवा तथा महिलालाई गतिलो सन्देश, महिला पनि नेतृत्व लिन तयार’ ।

केन्द्रीय सभापतिमा ६० पार गरिसकेका पाका नेताहरुले दाबी गरिरहनुभएका बेला पार्टीको सबैभन्दा तल्लो निकायमा १९ वर्षका युवा पुग्दा पार्टीमा क्रियाशील युवा समूहमा रक्तसञ्चार भएको छ । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महतले वडाका पार्टी नेता कार्यकर्ताले गरेको विश्वासलाई कायम राख्दै नमूनाका रुपमा काम गर्ने प्रतिक्रिया दिनुभएको छ ।

महत सम्भवतः देशभरका वडामा कान्छो सभापतिका रुपमा निर्वाचित हुनुभएको छ । युवा त्यसमा पनि महिला सानै उमेरमा राजनीतिक नेतृत्वमा पुग्नुलाई युगको सन्देशका रुपमा विश्लेषण गर्नेको सङ्ख्या पनि सामाजिक सञ्जालमा धेरै छ । रचनात्मक राजनीतिमा युवा अझै सक्रिय हुनुपर्ने आशयको पोष्ट पनि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा भएको छ ।

खेमराज बस्नेतले युवा विरक्तिएर विदेश पलायन भएका बेला १९ वर्षीया युवती पार्टीको वडा तहको नेतृत्व लिन सफल हुनुले सकारात्मक सन्देश दिएको सामाजिक सञ्जालमा लेख्नुभएको छ । महतलाई सामाजिक सञ्जालमा बधाई दिने पनि धेरै छन् । धेरै सञ्चारमाध्यमले यो विषयलाई प्राथमिकताका साथ समाचारमा समेटेका छन् ।

नरेशप्रसाद जोशीले सामाजिक सञ्जालमा ‘केही गर्न सकिदैन, परिवार गरिब छ, राजनीति धनीले गर्ने हो, हामी केटी मान्छे चार जनाको अगाडि बोल्न त लाज मान्छौँ, यी र यस्तै यावत् चिन्तामा रहनुभएका दिदीबहिनी र महिलामित्रको लागि प्रेरणाको खम्बा सावित भइन् स्वस्तिका महत’ भन्ने वाक्यांश लेख्नुभएको छ ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेजबाट हेल्थ असिस्टेन्ट (एचए) गरेर फर्कनुभएकी महत बाबु स्वर्गीय भूपेन्द्र महतको राजनीतिक इच्छा पूरा गर्न राजनीतिमा प्रवेश गर्नुभएको हो । दैलेख कांग्रेसको उपसभापति भइसक्नुभएका भूपेन्द्रको राजनीतिबाट समाज रुपान्तरण गर्ने अभियान पूरा गर्न आफू राजनीतिमा लागेको उहाँको भनाइ छ ।

यसैगरी अछामको मङ्गलसेन नगरपालिका–१६ मा पनि २२ वर्षीय युवती वडा सभापति निर्वाचित भएको समाचार सार्वजनिक भएको छ । मङ्गलसेन नगरपालिका–१६ मा जानकी रावल (भण्डारी) सभापति निर्वाचित हुनुभएको हो ।

दैलेख र अछामका अन्य वडामा पनि युवा नेतृत्व निर्वाचित भएको कांग्रेसले जनाएको छ । लामो समयदेखि नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलको महाधिवेशन नभएकाले पनि युवा विद्यार्थी कांग्रेसकै महाधिवेशनमा उम्मेदवार बन्न थालेका छन् । राजनीतिका माध्यमबाट समाजमा केही गरेर देखाउने सोच बनाएका युवालाई पार्टीको सबै तहको नेतृत्वमा स्थान दिनुपर्ने कांग्रेस काठमाडौँका नेता बुद्धिमान तामाङले बताउनुभयो ।

लोकतन्त्रको पर्याय दाबी गरेपनि कांग्रेसले समयमा पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाको स्वस्थ अधिवेशनसमेत नगराएको टिप्पणी हुने गरेको छ । वडा तहसम्म लोकतान्त्रिक अभ्यासलाई तीव्रता दिन पनि युवा पुस्ता सक्रिय राजनीतिमा आउनुपर्ने धारणा प्रबल बन्न थालेको उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।