झापाबाट अवधारणा पत्र सार्वजनिक गर्दै विश्वप्रकाश
काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारीबारे आज अवधारणा पत्र सार्वजनिक गर्ने भएका छन् । संविधान दिवसको अवसर पारेर मध्याह्न १२ बजे शर्माले झापाको बिर्तामोडमा फेसबुकमार्फत महामन्त्री उम्मेदवारीबारे अवधारणापत्र सार्वजनिक गर्ने भएका हुन् ।
‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ भन्ने नारासहित नेता शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणाबारे प्रस्ट पार्ने भएका छन् । कांग्रेस युवा नेता शर्माले २४ भदौमा बिपी स्मृति दिवसको अवसर पारेर सुन्दरीजलबाट १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
सहमति र सहकार्यबाट संविधान कार्यान्वयन अघि बढाइनेछ : प्रधानमन्त्री देउवा
काठमाडौं, ३ असोज/प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति र सहकार्यबाट संविधानको कार्यान्वयनलाई अघि बढाउने बताएका छन् ।
संविधान तथा राष्ट्रिय दिवस २०७८ विशेष समारोहलाई टुँडिखेलमा सम्बोधन गर्दै देउवाले संविधानको सफल कार्यान्वयन गर्दै विकास समृद्धि कायम गर्नु प्रमुख लक्ष्य रहेको बताए ।
‘दिगो शान्ति कायम गरी संविधानको पूर्ण पालना गर्नु कर्तव्य हो । नागरिकको जिउधन रक्षा सरकारको मुख्य लक्ष्य हो,’ उनले भने ।
देउवाले चैत मसान्तभित्र सबै नेपालीलाई पूर्ण खोप लगाउने लक्ष्य सरकारले लिएको पनि जानकारी गराए ।
राजनीतिक परिवर्तनप्रतिको नेपाली जनातको चाहना यस संविधानबाट सम्बोधन भएको उल्लेख गर्दै देउवाले संविधानको रक्षा एवं कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।
‘यसको सफल कार्यान्वयनबाट आर्थिक र सामाजिक रुपान्तरण गरी समृद्धितर्फ अघि बढ्न सबैले संकल्प गरौं । नेपाल सरकार प्रतिबद्ध छ,’ उनले भने ।
संविधानको कार्यान्वयनका लागि आवश्यक कानुन परिमार्जन गर्दै जाने उल्लेख गर्दै देउवाले सहमति सहकार्यबाट अघि बढ्ने र न्याय समानतासहहित सबल नेपालको निर्माण गरिने बताए । नागरिकका इच्छा आकांक्षा सम्बोधन गर्दै सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
‘भौगलिक अखण्डता, स्वाधिनता, सुशासनमा सरकार प्रतिबद्ध छ । व्यवहारमा उतार्न अधिकतम प्रयास गरिनेछ,’ उनले भने ।
प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्र गतिशील बनाउन सातौ संविधान दिवसले शक्ति र प्रेरणा देओस् भनि प्रार्थना गरे ।


