गाउँका २०८ घरपरिवार विगत तीन महिनादेखि को हाहाकार

गलेश्वर, ५ असोज । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका २०८ घरपरिवार विगत तीन महिनादेखि खानेपानी अभवका कारण खोला र कुवाको दूषित पानी पिउन बाध्य भएका छन् । खानेपानी अभावमा काकाकुलको नियति भोग्न बाध्य यहाँका बासिन्दा एकाबिहानै गाग्री बोकेर पानीको खोजीमा निस्कने गर्दछन् । खोला र कुवाको दूषित पानीका कारण बालबालिका र वृद्धवृद्धालाई रुघाखोकीलगायतका मौसमी रोग देखिएको स्थानीयवासीले बताएका छन् ।

गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिएपछि यहाँका २०८ घरपरिवारलाई खानेपानीको समस्या भएको हो । यसबीचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपमा क्षति पु¥याएपछि बगरफाँटका बासिन्दा विगत तीन महिनादेखि खोला र कुवाको पानी पिउन बाध्य भएका हुन् । मर्मतकार्यमा बगरफाँट खानेपानी तथा सरसफाइ योजना उपभोक्ता समितिले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।

गाउँमा रहेका २८ वटा धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटकी सावित्री शर्माले बताउनुभयो । दुई सय १४ घरधुरी रहेको बगरफाँटमा तीन महिनादेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा ठूलो समस्यामा परेका स्थानीयवासीले बताएका छन् ।

विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रेखोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ वटा धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो ।

त्यसपछि वर्षेनी बर्खाको समयमा बाढी र पहिराले पाइप लाइनलाई क्षति पु¥याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकामा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताउनुभयो ।

अध्यक्ष कार्कीका अनुसार अझै केही दिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत अघि बढाइने छ । खानेपानीको समस्याका कारण बगरफाँटको २१४ घरधुरीका एक हजार २०० भन्दा बढी जनता प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।

गाउँको पुछारमा म्याग्दी नदी र सिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायतका पानीका आधा दर्जन बढी स्रोत रहेका भए पनि ती पानीका स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।