राजेन्द्र राई प्रदेश १ मा मुख्यमन्त्री बन्ने

विराटनगर, १५ कात्तिक /प्रदेश १ ले तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन् । आचार्य नेकपा एमालेका हुन् भने राई नेकपा (एकीकृत समाजवादी)का हुन् । एमाले विभाजन भएसँगै आचार्य अल्पमतमा परेका थिए । अल्पमतमा परेपछि विश्वासको मत लिन आचार्यले प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए ।

तर, बहुमत नपुग्ने भएपछि सोमबार आचार्यले राजीनामाको घोषणा गरेका हुन् । उनले राजीनामा घोषणा गरेकाले विश्वासको प्रस्तावमाथि मतदानमा जानु नपर्ने भन्दै २३ कात्तिकसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाउने जाने बताएका छन् । उनले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री बनाउन दलहरूमा आह्वान गर्नेछन् । यसपछि प्रदेशसभामा गठबन्धनको बहुमत रहेकाले उसले राजेन्द्र राईको नाम सिफारिस गर्नेछ ।

प्रदेशसभामा ९२ जना सांसद सासद छन् । सरकार बनाउन ४७ जना सांसद अवश्यक पर्छ । तर, एमालेको सभामुखसहित ४१ सांसद छन् । यता विपक्षी गठबन्धनमा आवद्ध दल कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १० र जनता समाजवादीका तीन जना गरी ४९ जना सांसद छन् । जुन सरकार बनाउन बहुमत संख्या हो । यस्तै प्रदेशसभामा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक एक जना सांसद छन् ।

यो पनि पढ्नुहोस्….सयपत्री सप्रियपछि किसान मक्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला
कुलप्रसाद काफ्ले/चितवन, १५ कात्तिक । तिहार नजिकिँदै जाँदा चितवनमा सयपत्री फूल तयार भएका छन् । यहाँका बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन्, तिहारकाे पर्खाइमा । अबको दुई/तीन दिनमा फूल टिप्ने तरखरमा छन्, यहाँका किसान । सयपत्री फूलखेतीमा पछिल्ला वर्ष युवा पुस्ताको आकर्षण पनि बढ्दै गएको छ ।

सप्तरी राजविराजका शशन देवकोटाले भरतपुर महानगरपालिका-५ समीचोकमा पाँच कट्ठा जमिनमा सयपत्री फूलखेती गरेका छन् । बारीमा फूल टिप्ने बेला भइसकेको छ । लक्ष्मी पूजाको अघिल्लो दिनदेखि फूल टिप्न थाल्ने उनले योजना बनाएका छन् । ‘पहिलो पटक सयपत्री फूल लगाएको हो । राम्रो भएको छ’, उनले भने । उनले कलकत्ते हाइब्रिड र कर्मा-५५५ जातको सयपत्री फूल लगाएका हुन् । पाँच कट्ठामा लगाएको फूलबाट करिब २ हजार माला बिक्री हुने उनको अनुमान छ । कृषिका विद्यार्थीसमेत रहेका उनलाई फूलमा लाग्ने रोगको बारेमा राम्रोसँग जानकारी छ ।

फूलमा कतै–कतै ढुसी र स्पाइडर माइट देखिने गरेको उनले बताए । राम्रो विषादीको प्रयोग गर्न जाने फूल बचाउन सकिने उनी बताउँछन् । देवकाेटाले यो वर्ष एउटा माला ८० देखि १ सय रुपैयाँसम्म विक्री गर्ने योजनामा छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकसमेत रहेका भरतपुर-१५ रामपुरका सूर्य ढुंगानाले १० कट्ठामा सयपत्री फूलखेती गरेका छन् । ‘फूल तयार भइसकेकाे छ । फूलको बुकिङ पनि सुरु भइसकेको छ । लक्ष्मी पूजाको दिनबाट टिप्न सुरु गर्छाैँ’, उनले भने ।

१० कट्ठामा लगाइएको फूलबाट करिब १० हजार माला बनाउन सकिने उनको अनुमान छ । गत वर्ष लकडाउनका बेला बचेको समयलाई सदूपयोग गर्न उनले केही जग्गामा सयपत्री फूल लगाएका थिए । फूलको उत्पादन र माग दुबै राम्रो भएपछि उनले यो वर्ष पनि फूलखेती गरेका हुन् । यो वर्ष उनले अरु साथीलाई समेत समेटेर भरतपुर महानगरका विभिन्न स्थानमा सयपत्री फूलखेती गरेका छन् । मंगलपुर, फूलबारी लगायतका स्थानमा एक विघामा सामुहिक फूलखेती गरिएको उनले जानकारी दिए । ‘फूलको माग राम्रो छ । तिहारमा बेचेर सकिएन भने पनि मंसिर लाग्दै छ । विवाह टन्नै हुन्छन् । बिक्री भइहाल्छ’, उनले भने ।

पोहोर उनले सयपत्री फूलको विरुवा किनेर ल्याएर खेती गरेका थिए । यो वर्ष भने थाइल्याण्ड र भारतबाट फुलको बीउ ल्याएर विरुवा उत्पादन गरी फूलखेती गरिएको उनले बताए । चितवनमा मात्रै यो वर्ष करिब ४० हजार विरुवा बिक्री गरेको उनी बताउँछन् । दाङमा २० हजार विरुवा पठाइएको उनले बताए । अहिले भरतपुर र नारायणगढका केही व्यापारीले थोरैथोरै परीमाणमा फूल लैजान थालेको उनले बताए । ‘अहिले एउटा मालाको फूललाई ६० रुपैयाँमा दिएका छौँ । लक्ष्मीपूजाको दिनबाट त सय रुपैयाँ पर्छ । अहिले सस्तो परेकाले कोल्ड स्टोरमा राखेर तिहारसम्म टिकाउने भन्दै केही व्यापारीले छिटपुट लग्न थालेका छन्’, उनले भने ।

काठमाडौँ, पोखरा लगायत बाहिरी जिल्लाका व्यापारीलाई भने अहिल्यै नदिइने उनले बताए । लक्ष्मी पूजाको दिनबाट मात्रै बिक्री गरिने उनको भनाइ छ । भरतपुर–७ मा पनि युवाले सामूहिक रुपमा सयपत्री फूलखेती गरेका छन् । युवाले माली दाइ एग्रो इनोभेसन प्राली नामक संस्था स्थापना गरेर २७ कट्ठामा फूलखेती गरेका छन् । पर्वलाई लक्षित गरेर विभिन्न चरणमा फूलखेती गरिएको माली दाइका सञ्चालक इन्जिनियर सागर कार्कीले बताए । कार्कीसहित कृषिका विद्यार्थी अजयकुमार यादव र शिक्षक एक्सन लौडारीले सामूहिक फूलखेती गरेका हुन् ।

दशैँलाई नौ कट्ठा, तिहारलाई १५ कट्ठा र छठ तथा विवाहको सिजनका लागि भनेर तीन कट्ठामा फुल लगाइएको उनले बताए । ‘तिहारका लागि लगाइएको फुलबाट आठ हजार माला बनाउन सकिन्छ कि भन्ने अपेक्षा छ’, उनले भने, ‘हामी सस्तोमा माला दिन खोज्दै छौँ । सजावटका लागि चाहिने एक मिटरको मालालाई सय रुपैयाँ र घाँटीमा लगाइदिने मालालाई ८० रुपैयाँमा दिने योजना छ ।’तिहारको लागि भने आठ सय किलो फूल र दुई हजारजति मालाको माग आइसकेको उनी बताउँछन् । तिहारलाई लक्षित गरेर भरतपुर–७ बुद्धचोकमा फूलको पसल राख्न लागिएका उनले बताए । ‘सामाजिक संस्था बेटर चितवनको समन्वयमा मालि दाई स्थापना भएकाले पसलमा संस्थाका स्वयमसेवक खटिन्छन् । त्यसबाट आएको नाफा सामाजिक काममा नै प्रयोग गर्छौँ’, उनले भने ।

यस वर्ष चितवनमा करिब ३५ बिघामा व्यावसायीक रुपमा सयपत्री फूलखेती गरिएको फ्लोरिकल्चर एशोसियसन नेपाल चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठ बताउँछन् । त्यसबाट एक लाख २० हजार मालालाई पुग्ने फूल उत्पादन हुने अनुमान छ । ‘घरमै आफूले लगाउने भनेर पनि कतिपयले फूल लगाएका छन् । करिब ३५ बिघामा व्यावसायिक रुपमा नै लगाइएको छ । ती दुबैबाट गर्दा साढे दुई लाख माला बन्न सक्ने अनुमान गरेका छौँ’, उनी भन्छन्, ‘चितवनलाई त्यतिले मात्रै पुग्दैन । अरु थप एक लाख मालाको लागि चाहिने फूल बाहिरी जिल्लाबाट ल्याउनुपर्छ ।’

मालाको मूल्य निर्धारण भइनसकेकाले बाहिरबाट थप फूल नआए मालाको मूल्य बढ्न सक्ने उनी बताउँछन् । तिहारमा ८० देखि १ सय रुपैयाँसम्ममा एउटा माला बिक्री हुने व्यवसायीले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।