कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य, रौतहटको नामावली सार्वजनिक
काठमाडौं, २४ कात्तिक/नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता टुंगो लागेको बताए । २७-२९ मंसिरमा तोकिएको कांग्रेस महाधिवेशनको तयारीअन्तर्गत रौतहटमा क्रियाशील सदस्यतामा विवाद देखिएको थियो । तर त्यसलाई समाधान गरेर आज नामावली सार्वजनिक गरिएको सूचना अधिकारी अधिवक्ता केशव रिजालले जानकारी दिए ।
यता कांग्रेस रौतहटका केही नेता कार्यकर्ता भने क्रियाशीलता सदस्यतामाथि प्रश्न उठाउँदै केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसिरहेका छन् ।
देशभर चिसो बढ्यो
काठमाडौँ, २४ कात्तिक (रासस) ः काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उहाँले भन्नुभयो । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।
हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।


