मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै, एमाले पनि सहभागी हुने
विराटनगर, १ मंसिर ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले आज बुधबार विश्वासको मत लिँदै छन् । राईले मंगलबार विश्वासकाे मत लिने भनिए पनि प्रमुख प्रतिपक्षी एमालेका सांसद अनुपस्थित भएपछि प्रदेशसभा बैठक स्थगित भएकाे थियाे ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावले देखाउदै सांसद आउन नसक्ने भनेर एमालेका सांसदले मंगलबारकाे बैठक रोक्न माग गर्दै निवेदन दिएका थिए ।आज साढे ११ बजे प्रदेशसभा बैठक बस्दैछ । एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आजकाे बैठकमा एमालेकाे सहभागिता हुने बताए ।
गण्डकीमा कर्मचारी सूचना प्रणाली लागू
गण्डकी, १ मङ्सिर (रासस):गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कर्मचारीको सरुवा–बढुवामा एकरुपता आउने लक्ष्यका साथ कर्मचारी सूचना प्रणाली सुरु गरिएको बताउनुभएको छ ।
गण्डकी प्रदेश सरकारले लागू गरेको कर्मचारी सूचना प्रणालीको मङ्गलबार शुभारम्भ गर्दै उहाँले सूचना प्रणाली लागू भएसँगै प्रदेशअन्तर्गतका प्रत्येक कर्मचारीको व्यक्तिगत वितरण तयार गरिने जानकारी दिनुभयो । प्रदेशस्तरमा रहेका सबै कर्मचारीको यथार्थ विवरण राख्न यो प्रणाली लागू गरिएको प्रदेश प्रमुख सचिव डा दामोदर रेग्मीले जानकारी दिनुभयो ।
उक्त प्रणालीमा कर्मचारीको पद विवरण, तह विवरण, सेवा, समूह, जिल्लामात्र नभएर सरुवा पत्र र टिप्पणी पत्रको ढाँचासमेत उल्लेख गरिएको उहाँको भनाइ छ । “गण्डकी प्रदेशमा करिब तीन हजार कर्मचारीको दरबन्दीमध्ये दुई हजार मात्र पूर्ति भएको छ”, रेग्मीले भन्नुभयो, “कर्मचारीको सरुवा, बढुवा मात्र नभई कारबाही र पुरस्कारका लागि पनि यो प्रणाली सहयोगसिद्ध हुन्छ ।” मुलुकका सात प्रदेशमध्ये गण्डकीमा यो प्रणाली पहिलोपटक लागू भएको हो ।


